पशुपतिनाथमा एक रात : कतै मायालु जोडी, कतै सिद्राको व्यापार

Lifestyle

दिउँसैदेखि सुरुभएको पशुपतिको जात्रा साँझ परेसँगै झनै चुलिँदै गएको छ । जागिरेहरुले जागिरको छुटि्ट भएपछि रमिता हेर्नको भीड बढ्दै छ । यो रमिताले जात्राको महत्व बढाइरहेको छ ।
सबैभन्दा रोचक प्रसँग बोकेको पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्ती तिर कसैको ध्यान छैन । आफ्नै सुरमा हिँड्ने घुमन्तेहरु बाहेक विश्वरुपसँगैको सो मूर्तिप्रति कसैको ध्यान छैन । सोही गणेशको मूर्तिलाई कान नसुन्ने भगवानका प्रतीक हुन् । पहिले पहिले त्यहाँ गएर श्रद्धालुहरु जोड जोडले चिच्याएर मूर्तिलाई कान सुनाउन खोज्ने चलन रहेको बुढापाकाहरु सुनाउँछन् ।
यताको रमिताको भिन्न परिवेश छ आर्यघाटमा । त्यहाँको सन्नाटाले बाला चतुर्दशी र पशुपतिको जात्रालाई छोएको छैन । हजारौं वर्षदेखि यो घाटलाई कुनैपनि पर्व र जात्राले छोएको छैन । यो सन्नाटामा नै हराउँदै आएको छ । त्यहाँ आएपछि जो कोहीको पनि हाँसो रोकिँदै आएको छ ।
साँझ ६ बजेको पशुपति
पशुपति आउनेहरुको प्रयोजन फरक फरक छ । कोही पशुपतिको जात्रामा सिद्राको व्यापार गर्नको लागि आएका छन् । कोही दिवंगत पितृहरुको उद्दारको लागि आएका छन् । कोही आफ्नो जागिरे जीवनको भारी बिसाउनको लागि आएका छन् । जो जे प्रयोजनको लागि आएको भएपनि पशुपति मन्दिर परिसर नै हजारौं यात्रीको गन्तव्य बनेको छ ।
आइतबार त्यही जात्रा चलिरहेको छ, पशुपति क्षेत्रमा । साथमा सिद्राको व्यापार पनि । राति पश्चिमबाट चलेको हावाले पशुपति माथिको कैलाश डाँडोमा मौसम थप चिसिँदै छ । कैलाशको त्यही चिसो सिरेटोबाट बँच्दै चुनौती दिँदै बसिरहेका छन् झण्डै ५ सयको हाराहारीमा त्रिपाल टाँगेका मान्छेहरु ।

करिब ७ बजेको पशुपति
साँझ ढल्किँदै गर्दा धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकै आदि अन्न तलबाट कैलाश तिर ओसारीरहेका छन् । कोही शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला जस्ता फलफूूल ओसारिरहेका छन् । आउने जानेको भीडले बाटोमा एक अर्कासँग ठक्कर खाँदै हिँडिरहेका छन् ।
रात बिताउन कसैले व्यवस्थित रुपमा त्रिपाल टाँगेका छन् । कोही खुल्ला आकाशमा मण्डी ओढेर बसिरहेका छन् । भुईंमा बिच्छ्याउने म्याट बेच्नेहरु समेत धेरै देखिन्छन् । ‘सस्तोमा म्याट आयो’ भन्दै उनीहरु आर्कषण गरिरहेका छन् । कोही पशुपति मन्दिरबाट एउटा हुल हातमा बत्ति बोकेर कैलाशको डाँडो तिर बसिरहेका छन् । कोही बागमतीमा त्यही बत्ति बगाउनमा व्यस्त छन् ।
आज कामै यही हो । बुढापाकाहरु भुटेको चना खाएर आफ्नो रातभरको गर्जाे टारिरहेका छन् । नुवाकोटका ५५ वषर्ीय रामबहादुर पुडासैनी भन्छन् ‘आज राति १२ बजेसम्म खान मिल्छ । खानु त पर्यो नि ? तर, यो सबै घरबाट नै ल्याएको खाना हो । बाहिर पकाएको अशुद्ध खाना चाहिँ आज खान मिल्दैन ।’
यो जात्रा तन्नेरीहरुको लागि बाहाना बनेको छ । केही जोडीको हुल पशुपतिबाट श्लेष्मान्तक वनतर्फको बाटो तिर लागिरहेका छन् । केही बुढापाकाहरु पश्चिमी गेटबाट पशुपति नाथको दर्शन गर्न जाँदै छन् । कोही फर्किँदैछन् । जाने र फर्किनेहरुको भीडले पशुपति एउटा कोलाहलमा हराएको छ ।
करिब ८ बजेको पशुपति
बजार केही कम हुँदैछ । व्यापारीहरुको आँखा तिनै श्रद्धालुहरुतिरै छ । धेरै रमितेहरुको भीड कैलाशको डाँडो तिरै तेर्सिएको छ । पशुपति क्षेत्र भित्र जानेहरुको भन्दा बाहिरिनेहरुको संख्या धेरै भएको भान हुन्छ । एक रातको बसाईको लागि शतबीज छर्न पशुपति आएकाहरुमा रात घर्किदै गएको कुनै पत्तो छैन । आफ्नै सुरमा उनीहरुमा हाँसोको फोहोरा छुटेको छ । यस्तै गरी चल्दैछ पशुपछि ।
७ बजेसम्म १ सय ४० रुपैयाँ भनेको सुन्तलाको भाउ एक घण्टामा नै एक सय मा झरेको छ । ठेलामा अझै पनि सुन्तलाको चाङ त्यस्तै छ । किन्नेहरु कमै देखिन्छन् । सँगै बदामको गाडा छ । उसलाई बरु अलिक भ्याईनभ्याई देखिन्छ । सडकको छेवैमा लहरै कपडा बेच्नेहरु छन् । लाग्छ उनीहरु पनि शतबीज छर्नेहरुको जस्तै रातभरको समय लिएर आएका छन् । राति आठ बज्ने समयसम्म पनि उनीहरुमा हतारो देखिँदैन । पशुपति मन्दिरभित्र जानेहरु कम हुँदै गएका छन् । श्लेष्मान्तक वन तर्फको सिँढीमा नै केही प्रेम जोडीहरु एक अर्कामा माया साटासाट गर्नमा व्यस्त छन् । साधुहरु आफ्नो बासस्थानमा नै व्यस्त देखिन्छन् ।
नौ बजेपछिको पशुपति
राति घडीले नौ बनाइसक्दा पशुपति सुत्ने तरखरमा लाग्दैछ । धेरैको चहलपहल अझै पनि सकिएको छैन । व्यापारीहरुको सुत्ने बेला अझै भएको छैन । कपडाहरुमा चिसोमा लगाउने कपडाहरु छन् । बच्चाहरु टाउकोमा लगाउने सिंग जस्तै देखिने बस्तु बेच्नको लागि बार्गेनिङ गरिरहेका छन् । एउटा चना भुटेर बेच्नेहरुको पनि छुट्टै बजार छ । यसमा जात्रा चलिरहेको छ र नौ बजेसम्म पनि सिद्राको व्यापार चलिरहेको छ ।

यसरी नै व्यस्त छ आइतबारको पशुपतिनाथ । हिन्दु संस्कृति मान्नेहरुले आˆना दिवंगत पूर्खाहरुको मुक्तिको लागि शतबीज छर्ने गरिन्छ । हिन्दु संस्कृति अनुसार कुनैपनि दूर्घटना या अकाल मृत्यु भएका मानिसहरु पूर्णरुपमा स्वर्ग या नर्कमा तर्न सक्दैनन् । जीवन जिउने क्रममा उनीहरुले पूरा गर्न नसकेका विभिन्न कर्म पूरा नभएसम्म मृतात्मा बैतर्नी तर्दैनन् भन्ने मान्यता छ ।
मित्रतासँग जोडिएको बाला चतुर्दशीको कथा
हामीले यो पर्व पूर्खाहरुलाई स्वर्ग तार्नको लागि भनेर सुरु गरेको भएपनि यसको किंवदन्ती भने अलिक भिन्न छ । धार्मिक क्षेत्रका जानकारहरुका अनुसार बाला चर्तुदशी मित्रताको प्रतीकसँग पनि जोडिएको छ ।
किंवदन्ती अनुसार प्राचीन कालमा बाला नाम गरेको एकजना असुर थिए । उनी आर्यघाटमा बसेर मृतकको आफन्तलाई तर्साउने र शव चोरेर खाइदिने गर्थे । आर्यघाटमा लगेका शवहरु कुनैपनि पूरा जल्नै नदिन थालेपछि यो कुरा राजाको दरबारसम्म पुग्यो । राजाले सिपाही ब्रिसलाई बालाको हत्या गर्न निर्देशन दिए । तर, ब्रिस बालाका एकदमै निकटका हितैषि थिए ।
जतिसुकै बदमासी गरेपनि मित्रताको न्यानो परिधिलाई तोडेर ब्रिसले बालाको हत्या गर्न सकेनन् । साथमा उनले राजाको आज्ञा अस्वीकार गर्न पनि सकेनन् । त्यसपछि उनी श्लेष्मान्तक बनमा गएर भगवान शिवको आराधना गर्न थाले । उनको तपस्याबाट खुशी भएका शिवले बालालाई असुर जुनीबाट मुक्त गराइदिन्छन् र असुर जुनीबाट मुक्त गराउनको लागि बालाको नाममा शतबीज छरेर आˆनो साथीलाई मुक्त गराउन आज्ञा दिन्छन् । सोही समयबाट शतबीज छर्न सुरु भएको विश्वास गरिन्छ । तर, किंवदन्तीमा त्यो समय कहिले थियो ? भन्ने चाहिँ भने यकीन छैन ।
तस्वीर : आर्यन धिमाल