कसरी बित्छ मिस नेपाल अनुष्काको एक दिन ?

Lifestyle

अनुष्का श्रेष्ठ के बन्न चाहन्थिन् ?
पिता बैंकिङ क्षेत्रमा । आमा फेसन डिजाइनर । उनले भेउ पाइरहेकी थिइनन्, ‘मैले कुन बाटो रोज्ने ?’
अनुष्का अष्ट्रेलियामा गइन् र पिताको पदचाप पच्छ्याइन् । अर्थात् बैंकको जागिर खान थालिन् । तर, त्यसमा उनको मन हराभरा भएन । बरु आमाको रुचीसँग मिल्दोजुल्दो बाटो समाइन् । अर्थात्, मिस नेपालको बाटो । यही मोडबाट उनको जीवनको फरक अध्याय सुरु हुन्छ ।
जब उनी अष्ट्रेलियाबाट फर्किइन्, एउटा सुखद यात्राको थालनी भयो । उनी मिस नेपालको दौडमा लागिन् । र, यो दौडमा उनले बाजी मारिन् । अनुष्का मिस नेपाल भइन् ।
मिस नेपाल भएपछि उनको जीवनको लय बदलियो । धुन बदलियो । व्यक्तिगत जीवनबाट माथि उठेर उनले आफूलाई सार्वजनिक गरिन् । यो बिन्दूमा आइपुगेपछि आफूलाई समाजसँग जोड्नैपर्छ भन्ने लाग्यो । सिन्धुपाल्चोकको सोलसिंह भन्ने गाउँमा नमुना बस्ती निर्माणमा खटिइन् ।
उमेरले उनी २३ वर्षकी मात्र भइन् । तर, उनमा व्यवहारिक परिपक्वता झल्कन्छ ।
मिस नेपाल भइसकेपछि अनुष्ककाको दैनिकी कसरी बित्छ त ? अनलाइनखबरसँग उनले स-विस्तार यसरी सुनाइन् ।
यसरी बित्छ मेरो दैनिकी
मेरो दैनिकी बिहान ६/७ बजेदेखि सुरु हुन्छ । म सुत्नमा सौखिन । बरु अरु काम फटापट गरेर १० मिनेट भएपनि धेरै सुतौं न भन्ने सोचाइ आउँछ । फुर्सद मिल्नसाथ सुत्छु ।
बिहान ओछ्यानमै पल्टिएर मोबाइलमा सरसर्ती आँखा दौडाउने गर्छु । सामाजिक सञ्जाल त मेरोलागि जरुरी  भइसकेको छ । ओछ्यानमा छाडेर हातमुख धुन्छु ।
नियमित पूजाआजा
घरमा पूजाकोठा छ, त्यहाँ गएर पूजाआजा गर्छु । मैले कक्षा ११ देखि नियमित रुपमा पूजा गर्दै आइरहेको छु । आमा र हजुरआमाले पूजा गरेको देखेर नै मैले पनि यो सिकेकी हुँ । अष्ट्रेलियामा हुँदा पनि आफ्नो यो नित्य कर्म छाडिन ।
नास्ता : मकै र भटमासको सातु
पूजापाठ सकाएपछि खानपिनको पालो आउँछ । मेरो एउटा बानी छ म हरेक २/२ घण्टामा केही न केही खानै पर्छ । काममा छु भने पनि मैले केही नखाएको २ घण्टा भयो म केही खाएर आउँछु भनेर निस्कने हो । बिहान सबैभन्दा पहिले चाहिँ मिक्स सातु खान्छु । मकै र भट्टमासको सातु मलाई एकदमै मनपर्ने गर्छ । मलाई त काठमाडौंको सातु खासै मन पर्दैन । गाउँघरको सातुमात्रै हो मन पर्ने ।
घरबाट निस्कने बेलामा घरमै खाने या डिब्बामा लिएर जाने हो खाना घरकै खान्छु । समय हुँदा त आफैंले खाना बनाएर लैजान्छु । मलाई विभिन्न किसिमको खाना बनाउन आउँछ र मन पनि लाग्छ । तर, समय नहुने भएकोले धेरै त आमाले नै खाना बनाउनु हुन्छ ।
चाउमिन भनेपछि हुरुक्कै, तर मुखलाई नियन्त्रण गर्छु
म मांसाहारी हो । मासु पनि कहिलेकाहीँ खान्छु । पिरो र गुलियो मलाई खासै मन पर्दैन । तर, जे खाएपनि समय र स्वाद लिएर खाने गर्छु । नियमित खाना भनेको दालभात तरकारी हो । तरकारी र मासु पनि कहिलेकाहीँ हुन्छ ।
बाहिर खाँदा त न्युटेसनको बारेमा चासो हुन्छ । तर, घरमा बनाएको नेपाली खानामा भने आफैंमा प्रशस्त न्युटि्रसन पाइन्छ । त्यसैले घरमा भने सामान्य खाना मात्रै खाइन्छ । खानाको कुरा गर्दा मम र चाउमिन खाने गर्छु । मम मध्ये पनि चाउमिन धेरै खान्छु । यस बाहेक ओखर, बदाम, काजु, किस्मिस जस्ता ड्राई फुडहरु पनि धेरै खाने गर्छु ।
मेकअप आवश्यक्ता अनुसार
म खासै गहनाहरु लगाउँदिन । म अलिअलि मेकअप गर्छु । देखावटी भन्दापनि स्कीन केयरमा धेरै फोकस गर्छु । बिहान उठेपछि मोस्चराइजर प्रयोग गर्छु । मेरो विचारमा मेकअप भनेको इच्छा हुनेलाई मात्रै आवश्यक हो ।
मलाई मेकअप गर्न पनि धेरै समय लाग्दैन । त्यही २० मिनेटभित्र नै मैले मेकलप गर्ने लगायत सबै तयारीहरु पूरा गरिसकेको हुन्छु । कपडामा म त्यति धेरै सौखिन छैन । बस्दा सहज हुने किसिमको कपडा लगाउँछु । धेरै तिर हिँडिरहनु पर्ने भएकोले हरेक ठाउँमा फिट हुने कपडा लगाउँछु ।
बुवाआमासँगै हिँडडुल
म बाहिर हिँड्दा गाडी वा ट्याक्सीमा चढेर हिँड्ने गर्छु । बेलुका फर्किँदा र बिहान जाँदा झण्डै एक घण्टा जति बुबा, आमा र मेरोसँगै यात्रा हुन्छ । यो नै मलाई निकै ठूलो खुशीको कुरा हो । कहिलेकाहीँ सम्झन्छु यदि म अष्ट्रेलियामा नै सेटल भएको भए यतिबेला बुबा-आमासँग नै यतिको समय बिताउन पाउने थिइन । त्यसैलै मैले आफूले आफैंलाई भाग्यमानी महसुस गर्ने गरेकी छु ।
मलाई मिस नेपालको छनोटको क्रममा एक जना गुरुले भन्नुभएको कम्तिमा दिनको एक घण्टा परिवारको लागि पनि समय दिने गर्छु । त्यसैले साँझको १/२ घण्टा काम बाहेकको पारिवारिक कुरा गरेर समय बिताउने गर्छु ।
सानो कुरामा पनि खुसी हुन्छु
म खासै योग गर्दिन । तर, म सधैं सकारात्मक सोचका साथ काममा निस्कन्छु । फिटनेसको लागि फोकस गर्छु । खानमा मुख बार्दिन । मन खुशी भयो भने दिमाग खुशी हुन्छ भन्ने मेरो मान्यता छ । म सानो सानो कुरामा पनि खुशी हुन्छु । आफूले गरेको कामले प्रभाव परिरहेको देख्दा झनै उमंगित हुने गर्छु । युट्युबमा गीत सुन्दा होस् या परिवारसँग एकछिन समय बिताउन पाउँदा पनि मलाई खुशी लाग्छ ।
मलाई रिस पनि छिटै उठ्छ । कसैले केही काम गर्छु भनेर त्यो कुरा गरेन भने साह्रै रिस उठ्छ । रिस कन्ट्रोल गर्नको लागि उनीहरुको व्यवहार नै त्यस्तै हो भन्ने सोचेर त्यसै छाडिदिन्छु । उनीहरुको जीवनमा पनि मैले दिन नसकेको कुरा धेरै होलान् भन्ने सम्झन्छु र कर्ममा विश्वास गरेर त्यसै चुप लाग्छु । रिस उठ्यो भने लामो सास फेरेर केहीबेर मौन बस्नु । अनि चित्त बुझ्न ।
म पुस्तकहरु पनि पढ्छु । पुस्तकमा म प्रायः आध्यात्मिक पुस्तकहरु पढ्छु । धेरै जिम्मेवार गराउने पुस्तकभन्दा पनि आफूलाई भुलाउने कुरा लेखिएका पुस्तकहरु मन पर्छ ।
जीवन सरल रुपमा सोच्छु
म जीवनलाई व्यवहारिक रुपमा ढालेपनि सरल रुपमा सोच्ने गर्छु । आफ्नो जीवनको बारेमा सोच्दै नसोच्ने मान्छेलाई म भाग्यमानी सम्झन्छु ।
मलाई धेरैले सानै उमेरमा पनि परिपक्व रहेको बताउँछन् । म घरकै जेठो सन्तान हुँ । त्यसैले घरका धेरै कुराहरु म सुन्ने गर्छु । त्यसैले पनि म सानै उमेरमा व्यवहारिक हुने गरेको छु । मैले १८ वर्षको उमेरदेखि नै एक्लै बस्ने बानी पारिसकेको थिएँ ।
मेरो परिवार
म एउटा मध्यम वर्गीय परिवारकी सदस्य हुँ । काठमाडौंमा जन्मिएकोले पनि होला मैले दुख भोग्नु परेन । मेरो परिवारमा आमाबुबा, हजुरआमा, दिदीबहिनी बुबा-आमा र बहिनी हुनुहुन्छ । मेरो बुबा बैंकको जागिरे हो । आमा फेसन डिजाइनर ।
काठमाडौंमा प्लस टु तहको अध्ययन सकेपछि म अध्ययनको सिलसिलामा नै अष्ट्रेलिया गए । स्नातक तहको लागि मैले अष्ट्रेलियाको सिड्नीमा बस्दा त्यहाँ बैंकमा नोकरी पनि गरेकी थिएँ । मेरो अध्ययन पनि त्यही क्षेत्रको भयो । त्यसैले म बुबाको पेशा तिर लागेकी हुँ ।
तर, नेपाल फर्किएर म आमाको पेशासँग मिल्दो जुल्दो काममा लागेँ । आमा अहिले हातले बुनेको ढाकाको टोपी बनाउने गर्नुहुन्छ । स्थानीय शैलीको ढाका बनाउने चलनको लागि मेरी आमाको योगदान पनि धेरै छ जस्तो लाग्छ ।
घरमा बस्दा मेरी बहिनी र मेरी आमा मेरो एकदमै मिल्ने साथीहरु हुन् । म स्वभावैले साथीहरुभन्दा पनि परिवारसँग घुलमिल हुन मनपराउने मान्छे हुँ । त्यसैले मेरो साथीहरुसँग भन्दा धेरै घरपरिवारसँग नै सम्बन्ध हुने गर्छ ।
मिस नेपालबारे मेरो बुझाई
पहिले पहिले मिस नेपाल भनेको सौन्दर्य बेच्नको लागि मात्रै आयोजना गर्ने कार्यक्रम जस्तो हुन्थ्यो । तर, अहिले यसले सिर्जनशील काम तिर प्रतिस्पर्धीहरुलाई उत्प्रेरित गरेको छ । यो एकदमै राम्रो कुरा हो । म मिस नेपाल हुनु भन्दा पहिले अष्ट्रेलियामा हुँदाखेरी नै विभिन्न सामाजिक कामहरुमा सहभागी हुँदै आएकी थिएँ । जस्तो कि नेपालमा भूकम्प गएको बेलामा विभिन्न किसिमका सहयोगहरुको संकलन गर्ने जस्ता काम गरेकी थिएँ । त्यससँगै नेपालको संस्कृति अष्ट्रेलियामा फैलाउनको लागि पनि धेरै सक्रिय भएर काम गर्ने गरेकै हो ।
मिस नेपाल हुनुको अर्थ
त्यसैले मेरो विचारमा त राम्रो काम गर्नको लागि क्राउन र ग्राउन आवश्यक छैन भन्ने लाग्छ । तर, यसबाट केही फाइदाहरु पनि छन् । जस्तो मिस नेपालको टाइटल नै यस्तो प्रभावित हुन्छ कि केही बौद्धिक र सिर्जनशील काम गर्छु भन्दा ए मिस नेपाल ? भनेर सकारात्मक दृष्टिले हेरिहाल्छन् । त्यसैले क्राउन र ग्राउनको पनि फाइदा नै नभएको भन्ने चाहिँ हुँदैन ।
धेरैले भन्छन् ‘तिमी त सेलिब्रेटी भयौ’ भनेर । तर, हामीले अन्तर्राष्टि्रय स्तरमा अझै आफ्नो धेरै काम देखाउन बाँकी नै छ । त्यसैले म आफूलाई सेलिब्रेटी भएको मान्दिन । बाटोमा हिँड्दा हामीले सबैलाई आफ्नो बारेमा परिचय दिनै पर्छ । तर, स्वभाविक रुपमा पहिलेकोभन्दा व्यस्तता थपिएको छ ।
सामाजसँगको साइनो
म पहिलै पनि सामाजिक काममा लाग्नको लागि आकांक्षी थिएँ । ममा इच्छाशक्ति भएपनि मैले एउटा राम्रो मञ्चको खोजी गरिरहेकी थिएँ । मैले त्यही मञ्च अहिले भट्टाएको महसुस गरेकी छु ।
अहिले हामी सिन्धुपाल्चोकको सोलसिंह भन्ने गाउँमा दीगो विकासको अभियान लिएर अघि बढेका छौं । चरम गरिबी र अशिक्षाबाट पिल्सिएको सो गाउँका चेलबेटीहरु समेत विभिन्न प्रलोभनमा परी बेचबिखन र अरुको पनि मृगौला तस्करी हुने गरेको समाचारहरु समय समयमा आउने गरेको पाइन्छ । त्यसैले मैले आफ्नो ‘व्युटी विथ प्रपोज’ टाईटलका लागि पनि यही गाउँ रोजेकी हुँ । नमूना गाउँको रुपमा विकास गर्ने लक्ष्य सहित लागेको सो गाउँमा १४० घरपरिवारका आमा र बच्चाको जीवनस्तर उठाउनको लागि लागिपरेको छु ।