जलवायु परिवर्तनको शिकार गरीब देशका बालबालिका

Lifestyle

मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन वायुमण्डमा बढ्दै गइरहेको छ । वायुमण्डलको तापक्रम व्यापक मात्रामा बृद्धि हुने काम नै जलवायु परिवर्तन हो । पछिल्लो २०० वर्षमा पृथ्वीमा यस्ता ग्यासहरु डरलाग्दो मात्रामा बढिरहेको छ । वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग र औद्योगिकीकरणको बढी प्रयोगका कारण वायुमण्डल दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ ।
जलवायु परिवर्तनको असर केवल मानवहरुलाई मात्रै होइन । माटो, जल र हरेक जीवजन्तुहरुमा यसको प्रत्यक्ष असर परिरहेको छ । यसको असर अरु प्राणीभन्दा मानिसहरुमा धेरै र मानिसहरुमा पनि बच्चाहरुमा धेरै पर्ने गर्छ ।
विश्वमा जलवायु परिवर्तन भएर पृथ्वीको तापक्रम बढेसँगै एसी, कुलर जस्ता मानवनिर्मित चिस्यानका सामग्रीहरु सञ्चालनमा आउन थाले । टाइम्स म्यागाजिनले गरेको एक अध्ययन अनुसार संयुक्त राज्य अमेरिकाको कूल ९० प्रतिशत घरहरुमा एसी जडान गरिएको छ । भारतमा जम्मा ४ प्रतिशतको घरमा मात्रै एसी जडान गरिएको छ । अझ गरिबदेशहरुमा त झनै यस्ता प्रविधिको प्रयोग अत्यन्तै कम छ । यस्तो अवस्थामा गरिब देशका बालबालिकाहरु धेरै जोखिममा पर्ने गरेका छन् ।
प्रतिबद्धताको उल्लंघन गरिब देशकोलागि अभिषाप
सन् २०१६ मा १९५ देशहरु सम्मिलित विश्व जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सबै देशहरुले एउटा प्रतिबद्धता व्यक्त गरेका थिए । जलवायु परिवर्तनलाई ध्यानमा राख्दै सबै देशहरुले औद्योगिक स्तरमा विश्वव्यापी तापमानको वृद्धिदरलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिने सहमती गरेका थिए ।
विश्वमा त्यसपछि धेरै अध्ययनहरु भए । ती अध्ययनहरुले आजका बच्चाहरु खुशी हुन नसक्नुमा जलवायु परिवर्तनको समेत भूमिका महत्वपूर्ण देखाएको छ । आजका बच्चाहरु जन्मिँदैदेखि खुशीलाई तिरस्कार गरेर जन्मिएका छन् । यसको कारण हो विश्वका कुनैपनि देशका मानिसहरुको जन्मपूर्व नै वातावरण प्रदूषणको चरम भार आफ्नो काँधमा बोकिसकेका हुन्छन् । संयुक्त अधिराज्य बेलायतमा जन्मिएका कुनै बच्चाले ६ वर्षको उमेर नकट्दै आफ्नै देशमा कोइलाको चरम प्रयोग देखिसकेको हुन्छन् । फ्रान्समा  जन्मिएका जो कोहीले पनि २१ औं जन्मदिन मनाउनु पूर्व नै पेट्रोलले भरिएका गाडी आफ्नो नाममा गरिसकेका हुन्छन् । यसको असर उनीहरुलाई पनि नपर्ने त होइन । तर, यसको विना गल्तीको सजाय गरिब देशका गरिब बच्चाहरुले धेरै भोग्नु परेको छ ।

पेरिस सम्मेलनमा प्रतिबद्धता सबै देशले गरे । तर, कार्यान्वयनमा सबै उदासिन छन् । सबै देशले प्रतिबद्धता अनुसार नै काम गर्ने हो भने विश्वमा शून्य ग्यास उत्सर्जन हुँदा आज जन्मिएका बच्चाहरु ३१ वर्षका हुनेछन् ।
तर, वास्तविकता धेरै टाढा छ । संयुक्त राज्य अमेरिकाले पेरिस सम्झौतालाई खारेज गरिसकेको छ । अन्य राष्ट्रहरूले यसलाई हल्का तरिकाले लिइरहेका छन् । विकसित देशहरु पनि यसबाट सुरक्षित त छैनन् । तर, गरिब देशका गरिब बच्चाहरु भने उच्च तापक्रमको शिकार बन्नु पर्ने अवस्था सुरु भइसकेको छ । टाइम्सले गत जुन महिनाको १५ दिनमा मात्रै विश्वभरका २०० जनाले बढी गर्मीका कारण नै ज्यान गुमाएका छन् ।
द लान्सेट नामक म्यागाजिनमा प्रकाशित गरिएको अध्ययन अनुसार विश्व स्वास्थ्य संगठन, इम्पिरियल कलेज लन्डन, द युनिभर्सिटी अफ यार्क, येल युनिभर्सिटी र इरान युनिभर्सिटी मेडिकल साइन्सेज लगायत ३५ संस्थाका अन्वेषकहरूले पृथ्वीको मौसम विज्ञानसम्बन्धी अध्ययन गरेका थिए । जसमा कूल ४१ सूचकमाथि विश्लेषण गरिएको थियो । जसमा बाढी, जंगलमा हुने आगलागी र लामखुट्टेबाट सर्ने रोगहरुको बढ्दो प्रयोगले उत्पन्न हुने समस्या समाधान गर्नको लागि आर्थिक संशाधनहरुको प्रयोग भइरहेको उल्लेख छ । तर, यस्ता महामारीको समस्या भने डरलाग्दो रुपमा बढिरहेको देखिएको छ ।
जलवायु परिवर्तन सम्बन्धी जुन समस्या हामीले भोगिरहेका छौं । त्योभन्दा धेरै समस्या भोलिका पुस्ताहरुले भोग्नेवाला छन् । एक अध्ययनका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य जोखिमको सीमा कूल बच्चाहरुमध्ये ९० प्रतिशतले नाघिसकेका छन् । विश्वमा कूल २ अर्ब २० करोड बच्चाहरुमा मध्ये सो संख्यामा बच्चाहरुले जलवायु परिवर्तनको असर भोगिरहेको देखिएको हो ।
यसका कारण उनीहरुमा दम, निमोनिया र विभिन्न किसिमका दीर्घकालीन रोगहरु लाग्ने गरेको पाइएको छ । यो समस्या केवल अविकसित देशहरुको मात्रै समस्या होइन । यो अमेरिका जस्ता विकसित देशहरुको समेत समस्या हो । विश्वव्यापी जनसंख्याको ७० प्रतिशत मानिसहरु सन् २०५० सम्ममा शहरी भेगमा बसोबास सुरु गरिसक्ने अनुमान विभिन्न अध्ययनहरुले गरेका छन् । यसको अर्थ दुई तिहाईभन्दा धेरै मानिसहरु अबको ३० वर्षपछि अस्वस्थ हावा भएको शहरी भेगमा बसोबास गर्नेछन् ।