‘ग्रीन टी पिउन जानेकै छैन’ चिया विशेषज्ञ सोनम पाल्जोर लामा

Lifestyle

नेपाली समाजमा अहिले ग्रीन टी पिउने लहर छ । ग्रीन टीलाई स्वादका लागिभन्दा पनि स्वास्थ्यका लागि पिउने गरेको पाइन्छ । कसैले तौल घटाउन, कसैले मधुमेह नियन्त्रण गर्न, कसैले क्यान्सरको जोखिमबाट बच्न ग्रीन टी पिइरहेका छन् ।
ग्रीन टीको उपभोक्ता बढेसँगै बजारमा थरीथरीका ग्रीन टी ल्याइएको छ । उपभोक्ताले बजारमा उपलब्ध ग्रीन टी खरिद गरेर सेवन गरिरहेका छन् । तर, बजारमा पाइनेमध्ये कुन ग्रीन टी गुणस्तरीय होला ? ताजा होला ? स्वादिलो होला ? भेउ पाउन सकिरहेका हुँदैनन् ।
बजारमा पाइने सबै ग्रीन टीको गुणवत्ता एकै हुँदैन । ग्रीन टी भन्नासाथ आँखा चिम्लेर सेवन गर्दा त्यसबाट स्वास्थ्यमा लाभ पुग्छ भन्ने हुँदैन । त्यसैले कुन ग्रीन टीमा असली ग्रीन टीको गुण भेटिन्छ भन्ने कुरा जान्नुपर्छ ।
ग्रीन टी कसरी पिउने, कस्तो भाँडामा राखेर पिउने भन्ने कुराले पनि धेरै महत्व राख्छ । त्यसैले ग्रीन टीबाट स्वास्थ्य लाभ लिने हो भने ग्रीन टीको छनोटदेखि पिउने शैलीसम्मको जानकारी हुनुपर्छ । यसै सन्दर्भमा अनलाइनखबरले चिया विशेषज्ञ सोनम पाल्जोर लामासँग कुरा गरेको छ, प्रस्तुत छ त्यसैको सम्पादित अंश ।
ग्रीन टी पिउँदा स्वास्थ्य लाभ मिल्छ भन्ने व्यापक धारणा छ, यसमा कती सत्यता छ ?
ग्रीन टी एक स्वास्थ्यवर्द्धक पेय पदार्थ हो, यसमा कुनै शंका छैन । ग्रीन टीमा के-कस्ता तत्वहरु पाइन्छन् भन्ने सन्दर्भमा विश्वभर थुप्रै अध्ययन-अनुसन्धान भएका छन् । ती अनुसन्धानहरुको निचोड के छ भने ग्रीन टीमा स्वास्थ्यका लागि लाभदायक थुप्रै किसिमका तत्व निहित छ ।
हुन त चियाको बोट एकै हो । बगान एउटै हो । त्यही बगानबाट टपक-टपक टिपेको चियाबाट ग्रीन टी बनाउने हो । अग्र्यानिक बगानबाट उत्पादित चियाको मुनामा विभिन्न किसिमका पोषकतत्व पाइन्छन् । चियाको मुना टिपेर सामान्य प्रक्रियाद्वारा प्रशोधन गरिन्छ । अन्य चियालाई झै धेरै लामो प्रक्रियामा लगिँदैन । त्यसैले ग्रीन टीमा चियाको मुनामा रहेको गुण कायम रहन्छ । चिया जति र्फममा भयो उति राम्रो मान्ने गरिन्छ । त्यसैले सबैभन्दा धेरै हृवाइट टीलाई र दोस्रोमा ग्रीन टीलाई गुणस्तरको हिसाबले राम्रो मान्ने गरिन्छ ।
अध्ययन/अनुसन्धान अनुसार एउटा चियाको पत्ता वा सुइरोमा २७ प्रतिशतसम्म पोलिफेनन्स भन्ने कम्पाउण्ड पाइन्छ । त्यसलाई वैज्ञानिक रुपमा क्याटेचेन्जस भनिन्छ ।
एकै बगानबाट, एकै बोटबाट टिपेको चियाको गुणस्तर चाहिँ कसरी भिन्दाभिन्दै हुन्छ ?
बगान, हावापानी, माटो र बोट अनुसार पनि चियाको गुणस्तर निर्धारण हुन्छ । यद्यपि एउटै बगान, एउटै बोटबाट थरीथरीका चिया बनाइन्छ । चियालाई थरीथरीका बनाउनका लागि त्यसको प्रशोधन विधि फरक हुन्छ । यस्तोमा ग्रीन टी चाहिँ कसरी बन्छ भन्ने प्रश्न उठ्छ ।

ग्रीन टी बनाउने मुख्यतया दुई तरिका हुन्छ । पहिलो तरिका अनुसार तातो पानीमा वा वाफमा राखेर तयार पार्ने गरिन्छ । यसलाई जापानी प्रविधिबाट चिया बनाउने तरिकाको रुपमा पनि चिनिन्छ ।
ग्रीन टी बनाउने दुई तरिकालाई अर्काे नामबाट पनि चिनिन्छ । एउटा स्टिमिङ विधि र अर्काे प्याननिङ विधि । जसमा पानी उमालेर हरियो चियालाई हरियो नै बनाइराख्ने गरिन्छ । त्यो डि एन्जाइमिङ विधि हो । यसमा हरियो पात सधैं हरियो नै रहन्छ । यो प्रक्रियामा ‘डि-एन्जाइमिङ’ पछि त्यसलाई कस्तो आकार दिने भन्ने तय गरी सोही अनुसारको चिया तयार पारिन्छ । यो विधि अनुसार बुट्यानबाट निकालेर ल्याएको चियालाई पानीसँग मेल नै नगराई तीब्र तापक्रममा उमालेको उमाल्यै गरिन्छ ।
अर्काे विधि अनुसार सोझै फायरिङ र अप्रत्यक्ष फाइरिङ गरेर चिया बनाउने गरिन्छ । यो दुबै ग्रीन टी बनाउँदा त्यसमा कुनै किसिमको तत्वहरुको नोक्सानी चाहिँ हुँदैन ।
यसलाई जापानी प्रविधिबाट चिया बनाउने र चिनियाँ प्रविधिबाट बनाइने चियाको रुपमा पनि व्याख्या गर्ने गरिएको हुन्छ । जसमध्ये जापानी प्रविधिको चिया बनाउँदा यो चिया बनाउँदा सामान्यतया ताजा चियाका मुना -पत्ताहरु) लाई स्टिम -वाफ) मात्र रोस्टर भाँडोमा राखिन्छ । राम्रो गुणस्तरको चियाको लागि फाइनलिफ कम्तिमा ५० प्रतिशत हुनुपर्छ । यसरी ती पत्ताहरुलाई एल्मुनियम वा स्टिलको ड्रम आकारको हावा नछिर्ने भाँडोमा राखिन्छ । रोस्टरमा त्यसको साइज अनुसारको १००-२०० के.जी. हरियो पत्ती हालिन्छ । यस्तो गर्दा चियाको हरियो गन्ध/काँचो गन्ध हराउँछ, पत्तीको रंग हरियै यथावत रहन्छ र पत्ती नरम र रवर जस्तो लचिलो हुन्छ । यदि पत्तीको साइज ठूलो/खराब छ भने रोस्टिङ्ग गरेको पत्तीको रंग पहेंलो हुन्छ र बिगि्रएको पत्तीको रंग रातो हुन्छ ।
दोस्रो तरिकालाई चिनियाँ तरिका भन्ने गरिन्छ । त्यसमा डाइरेक्ट फायरिङ र इनडाइरेक्ट फाइरिङ विधिद्वारा भुटेर प्रशोधन गरिन्छ ।
ग्रीन टीले स्वास्थ्यलाई कसरी फाइदा गर्छ ?
ग्रीन टीको सम्बन्धमा अत्यन्तै धेरै र गहन अध्ययन/अनुसन्धान भएको छ । त्यसैले ग्रीन टीले स्वास्थ्यमा जे-जति फाइदा गर्छ भनिएको छ, त्यसमा भ्रम र द्विविधा नहोला । ग्रीन टीको फाइदाबारे विश्व प्रसिद्ध जर्नलहरुमा लेख प्रकाशित भइसकेका छन् ।
सामान्यत ग्रीन टीले आखाँको ज्योति बढाउने, शरीरमा कोलस्ट्रोल घटाउने, दिमागको कार्यसञ्चालन राम्रो गराउने, छाला र शरीरमा हुने क्यान्सरको सम्भावना कम गर्ने, उच्च रक्तचाप र मधुमेह घटाउन समेत मद्दत गर्ने  ।

नेपालकै बगानमा वा नेपालकै ग्रीन टीबारे चाहिँ अध्ययन भएको छ ?
४/५ वर्ष पहिले पाँचथरको चियाको बारेमा जापानमा एउटा अध्ययन भएको थियो । सो अध्ययनले त्यहाँको चिया मानव शरीरको लागि निकै उपयोगी हुने प्रतिवेदन निकालेको थियो । ग्रीन टी भनेर बजारमा धेरै नक्कली चियाको पनि बिक्री भएको पाइन्छ । तर, चियाको मुनामा एक किसिमको सुइरो हुन्छ । त्यसको मुनी एउटा पत्ता हुन्छ । त्यो पत्ताभन्दा पनि मुनी दोस्रो पत्ताको गर्भमा एउटा नोड हुन्छ । त्यसको भित्र पाइने इन्टरनोडमा भरपुर मात्रामा औषधीय तत्वहरु पाइन्छ । क्याटेसिन्ट, प्रोटिन, स्याकाराइट्सहरुदेखि सबै कुरा त्यही इन्टरनोडमा भरपुर मात्रामा पाइन्छ ।
कसरी चिन्ने असली ग्रीन टी ?
ग्रीन टी हरियो कलरको हुनुपर्छ । शुद्ध ग्रीन टी रंगहीन र स्वादहीन पनि हुनसक्छ । बिरुवा वा पत्तीको जात/प्रकार, पत्ती टिपिएको समय, पत्तीको गुणस्तर, खेती गरिने पद्धति, प्रशोधन गरिने पद्धति र रासायनिक तत्वहरुको मात्राले यसको गुणस्तरमा भिन्नता आउने गर्छ । कालो चियाको तुलनामा ग्रीन टीमा सबैप्रकारका तत्व तथा रसायनहरु बढी मात्रामा पाइने गर्छ ।
ग्रीन टीलाई नन् र्फमेन्टिङ्ग टी पनि भनिन्छ । किनकि हरियो पत्तीलाई तुरुन्त रासायनिक प्रतिकि्रया हुन नदिई उसिनेर, उमालेर या भुटेर पोलिफेनल अक्सिडेज र अन्य इन्जाइमहरुलाई निस्क्रिय पारिन्छ र हरियो पत्ताको रंगलाई उही रंगमा यथावत राखिन्छ । ग्रीन टी, अर्थाेडक्स र सिटिसी दुवै प्रकारका मेसिनहरुबाट बनाउन सकिन्छ । तर, विश्वभरी नै अर्थाेडक्स ग्रीन टी नै प्रख्यात छ ।
ग्रीन टी पिउने विधि चाहिँ कस्तो हो ?
सकेसम्म ग्रीन टीलाई सेरामिक्स र माटोको भाँडोमा राखेर खाँदा राम्रो हुन्छ । चीनमा पनि अधिकांशले सेरामिक्स या माटोको भाँडोमा नै यसलाई राख्ने गर्छन् । अरु भाँडामा राख्दा यसमा हुने तीतोको मात्राका कारण रासायनिक प्रतिक्रिया हुनसक्ने भएकोले यसलाई माटो या सेरामिक्समा राख्दा राम्रो हुन्छ ।
हामीले पिउने चियामा ९८ प्रतिशत पानी हुन्छ भने २ प्रतिशत मात्रै चिया हो । चियामा अनसोलुएवल तत्वहरु पनि हुन्छ । चियालाई म मिनेरल वाटरमा चिया पिउँछु भन्नु गल्ती हो । मिनेरल वाटर त आफैंमा मिनेरल नै हुन्छ । त्यसैले यसलाई सकेसम्म बग्दै गरेको धाराबाट बग्दै आएको पानीसँग पिउनुपर्छ । त्यो पानीको सोलुएबिलिटी त्यसको अक्सिजनको मात्राले असर गर्छ । पानीलाई जति धेरै चलाइयो त्यति नै फाइदा हुन्छ ।
चिया खाने तरिकाको विषयमा पनि धेरै अध्ययनहरु भएका छन् । चिया दुई तीन पटक लगाएर खानुपर्छ । जसमा पहिलो ३० सेकेण्डमा, त्यसपछि ६० सेकेण्डमा, त्यसपछि २ मिनेटमा यसरी मिलाएर पिउने गर्नुपर्छ ।
चियामा पानी मिसाउने विधि पनि दुई किसिमको हुन्छ । एउटा पानीमा चियापत्ती राखेर खाने । अर्काे चियापत्ती राखेको भाँडामा धररर पानी हालेर खाने । योमध्ये दोस्रो विधि राम्रो हो । यसरी पानी हाल्दा पानीमा अक्सिजनको मात्रा बढी हुन्छ । जसले हामीलाई फाइदा गर्छ । तर, नियमित ग्रीन टी पिउनेहरुले पनि ग्रीन टी पिउने शैले जानेकै छैन ।
प्रस्तुती  : सुदर्शन अर्याल