जीवनसँग लडेर होइन, बहेर बाँचौं !

Lifestyle

मानव इतिहास हेर्ने हो भने व्यक्तिगत विकास र सफलताका लागि होस् या समाज, विज्ञान, राजनीति, अर्थशास्त्र, व्यापार, चुनाव, सेवा, परोपकार, राष्ट्र विकास जुन पनि विधामा समाहित भएर मानिसले काम गर्न सक्छ । तर, त्यहाँ केवल सही र गलत छुट्टयाउने काम मात्र भएको पाइन्छ ।
सरसर्ती हेर्दा हामीले जुन कुरालाई सही भन्दै आएका छौं र जुन कुरालाई गलत भन्दै आएका छौं, त्यसमा विल्कुल विपरीत तरिकाले, विपरीत सोचले र विपरीत अभ्यासले काम गर्दै आइरहेका छौं । यसो भनिरहँदा के जीवन उल्टो तरिकाले जिइरहेका छौं त भन्ने प्रश्न पनि उठ्न सक्छ ।
हो, यसलाई गहिराइबाट सोच्नुपर्छ । अब त ढिला भइसकेको मान्नुपर्छ । किनकि, जुन कर्म र सोच हामीले आफ्नो राम्रोका लागि, आफ्नै उन्नतिका लागि, आफ्नै सम्पन्नताका लागि गर्‍याैं, गर्दै आइरहयौं र गर्ने सोचमा छौं, त्यतिमात्र हो भने हामी सही छैनौँ ।
गहिराइमा नै मोती भेटिन्छ, बाह्य प्रेरणा र सफलताले हामीलाई क्षणिक सुख देलान्, तर आन्तरिक सुख प्राप्त गर्न समभाव, ध्यान, शान्ति र साधना नै आवश्यक पर्दछन् । आत्मावान् बन्नु र स्वयंको आत्मामा केन्द्रित हुनसक्नुजत्तिको अनुष्ठान र अनुशासन अरू हुनै सक्दैन
यसको अर्थ फेरि आफूलाई राम्रो नहुने काम नगर्नु र नसोच्नु भन्ने पनि होइन । हामीले अहिलेसम्म गर्दै आइरहेको अभ्यास भनेको आफ्नै स्वार्थमा केन्द्रित भएर गरेकाले त्यो सही काम नभएको हो । सही काम र सही सोचाई त त्यस्तो हो, जसले आफूलाई राम्रो त गरिन्छ नै, अरूका लागि पनि त्यति नै राम्रो र भलाई हुने तरिकाले गरिन्छ र सोचिन्छ ।
सारा पृथ्वी, जगत, चराचर, वनस्पति, जीवजन्तु लगायत मानव जातिको कल्याण अर्थात् समग्र अस्तित्वका लागि समेत कल्याण हुने कार्य र सोचमा हामी छौं भने हमी सही मार्गमा छौं । अन्यथा, आफ्नो भलाइका लागि अरूलाई कष्ट पुर्‍याउने, आफ्नो सफलताका लागि अरूका खुट्टा तान्ने र आफ्नो स्वार्थ पूरा भएपछि अरूलाई धोका दिने काम भएको छ भने हाम्रो कर्म र मार्ग सही भएन, गलत भयो ।
जीवनको आन्तरिक गहिराई र मानव चेतनाले आन्तरिक सुख र प्रेम नै खोजिरहेको छ । सुख त्यो हो, जसले आन्तरिक तृप्ति प्रदान गर्छ । यसो हेर्दा हरेक व्यक्ति बाहिरबाट सम्पन्न र सफल देखिन्छन्, एउटा न एउटा पद र सम्मान प्राप्त गरेर अरूको अगाडि केही हुँ, केही बनेको छु जस्तो देखाउँछन् । तर, भित्रबाट ती व्यक्तिहरु सुखी र आनन्दित भएको पाइँदैन । विना आनन्द र सुख जीवनको गहिराइमा सफलताको अनुभूति हुनै सक्दैन ।
यदि सुख र आनन्द पनि बढेको छ, तर त्यसले दोस्रोलाई दुःख पुर्‍याएको छ भने त्यो कर्म र सफलता पनि सही भएन । आफू र दोस्रोमा समान देख्ने समता भाव भित्रैबाट प्रकट नहुँदासम्म व्यक्तिले जतिनै सफलताका सिंढीहरू चढे पनि आन्तरिक रूपमा ऊ सुखी बन्नै सक्दैन ।
मानिस भौतिक प्राणी मात्र होइन, आध्यात्मिक गुण लिएर आएको प्राणी पनि हो । सबैलाई समान देख्ने समभाव नै अध्यात्मको पहिलो गुण हो । सामाजिक परोपकारका काम होउन् या राजनीति, अध्यात्म, हक अधिकार सुनिश्चितताका कुरा होउन्, महिला–पुरुष लैंगिक समानताका मुद्दा होउन्, सबैतिर समानता र समावेशिताका प्रसंगहरू आउने गर्दछन् । तर, व्यवहारमा पूर्णतः लागू भएका हुँदैनन् । किनकि यो समभाव लागू हुन र व्यवहारमा प्रकट हुन व्यक्तिमा भित्रैबाट निखार आउनुपर्छ ।
जीवनमा आउने सम्भावना होउन् या चाहना, समस्या होउन् या निराकरण, मलाई र अरूलाई उत्तिकै मात्रामा जरूरी हुन्छ । र, सबैको अवस्था उस्तै हो भन्ने सोच हृदयबाट आउन सकेको खण्डमा मात्र हाम्रो कर्म गराइको तरिका सही छ भनेर बुझ्नुपर्छ । आफूलाई राम्रो हुने तर नजानिँदो तरिकाले नै भए पनि अरूलाई दुःख पुर्‍याउने कर्महरू हुने गरेका छन् भने ती विल्कुलै सही तरिकाका कर्म भएनन् ।
महर्षि व्यासको अठाह्र पुराणको सार सूत्र केवल दुई वाक्यमा सीमित थियो । उहाँ भन्नुहुन्थ्यो मानिसले यिनै दुई सूत्रलाई जीवनमा अपनाउन सके अरू केही गर्नु पर्दैन । ती दुई सूत्र हुन्–‘परोपकार पुण्याय पापाय परपीडनम् ।’
अर्थात, अरूको उपकार गर्नु पुण्य हो । अरूलाई दुःख पुर्‍याउनु पाप हो । यिनै दुई सूत्रलाई हाम्रो जीवनलाई फर्केर हेर्‍याैं भने थाहा लाग्छ कि हामी सही मार्गमा हिँडेका छौं या गलत मार्गमा । हाम्रो कर्म गर्ने तरिका सही छ या गलत ।
हाम्रा सफलताका रहस्य, राजनीतिको उद्देश्य, सरकारमा रहेर राष्ट्र सेवा गर्ने प्रेरणा होउन् या कर्मचारीको माध्यमबाट जनसेवा प्रवाहित गर्ने काम र सामाजिक परोपकारका काम होउन्, धर्म र अध्यात्ममार्फत जनचेतना जगाउने कार्य सबैको उद्देश्य हो मैले अरूलाई भलो हुने काम गर्न सकूँ । मेरो प्रेरणाले उसको जीवनमा सुख, शान्ति र आनन्द फलित होओस् । जुन कुरा अरूले मलाई अरूले नगरून्, धोका नदिउन् भन्ने चाहना छ, त्यो कुरा मैले अरूको जीवनमा पनि गर्न नपरोस् । यति मात्र बोध गर्न सकेमा कतै पनि बेतिथि र अन्याय अनि अशान्ति देख्नुपर्ने अवस्था आउने थिएन ।
त्यसैगरी, जुन सकारात्मक कुरा र काम अरूले मलाई गरिदिउन् भन्ने चाहन्छु, त्यो मैले पनि अरूलाई गर्न सकूँ । म अरूबाट प्रसंसा पाउन चाहन्छु त मैले अरूलाई प्रशंसा गर्न किन कन्जुस्याइँ गर्ने ? म क्षमा चाहन्छु त मैले पनि अरूलाई क्षमा गर्न सकूँ । मलाई कसैले गल्ती बोध गराइदेओस् जस्तो लाग्छ त मैले अरूलाई गल्तीबोध किन नगराउने ? मेरा राम्रा कुराको प्रशंसा सामुहिकरूपमै होस् भन्ने चाहन्छु भने अरूको प्रशंसा सामुहिकरूपमै किन नगर्ने ?
व्यक्तिगत गुनासा छन् भने सामुहिकरूपमा नगरिकन व्यक्तिगतरूपमा गर्ने जस्ता शीलवानरूपी गुणहरू हामीमा छन् भने हाम्रो मार्ग र कामगर्ने तरिका सही छ । संसारका सानातिना सुख सुविधामा अल्झेर जीवनभर सफलताको रहस्य खोज्नु भन्दा कयौं गुणा बुद्धिमानी हुनेछ, जब हामी आफ्नो आन्तरिक स्वभावलाई जान्न र चिन्न सक्छौं अनि आत्मावान र विवेकपूर्ण भएर बाँच्न सक्छौं ।
हाम्रो ज्ञान, बुद्धि, समझ विवेकपूर्ण, मानवीयता र इमान्दारिताको माध्यमबाट प्रयोगमा आउन सकेको खण्डमा मात्र हाम्रो असली ज्ञानको परिचय मिल्नेछ । आफ्नो आन्तरिक खुसी, प्रेम र सुखलाई संसारिक हिसाब–किताबले बाधा नपुर्‍याओस् भन्ने बोधजस्तो ठूलो ज्ञान अरू के होला ? बाहिरका सफलता मापन गर्न योग्य होलान् । तर, भित्रका सम्पदा अनन्त छन्, जसलाई एउटा कुनै आधार बनाएर नाप्न सकिन्न ।
गहिराइमा नै मोती भेटिन्छ, बाह्य प्रेरणा र सफलताले हामीलाई क्षणिक सुख देलान्, तर आन्तरिक सुख प्राप्त गर्न समभाव, ध्यान, शान्ति र साधना नै आवश्यक पर्दछन् । आत्मावान बन्नु र स्वयंको आत्मामा केन्द्रित हुन सक्नु जत्तिको अनुष्ठान र अनुशासन अरू हुनै सक्दैन ।
ओशो भन्नुहुन्छ– जो व्यक्ति आफ्नो आन्तरिक गहिराइमा जान सक्दैन, उसले गर्ने कर्म, सोच र परिणाम पनि गहिराइमा हुँदैनन् । सतही सोच, सतही मानसिकता र सतही सफलताको पछि लाग्नाले नै व्यक्ति जीवनको उत्तरार्द्धमा पश्चातापमा पुग्ने गरेको हुन्छ । अवरोध, द्विविधा, भय, अस्थिरता, हलचल सबै व्यक्तिका तमस गुणहरू हुन् । यसले व्यक्ति स्वयं र समाज अनि राष्ट्रको विकास हुनै सक्दैन । यस्ता व्यक्तिहरू सधैं बेहोसीमा काम गरिरहेका हुन्छन् र बेहोसीमै जीवन बिताइरहेका हुन्छन् । सत्य, अहिंसा, करुणा, प्रेम, निर्भयता, स्थिरतामा बाँच्ने व्यक्ति सत्व गुण भएका व्यक्तिहरू हुन् । यी गुण भएका व्यक्तिहरू कहिल्यै आफ्ना कर्म र सोचसँग डराउनु पर्दैन । बाहिर जति नै प्रतिकूलता आए पनि भित्रबाट शान्त, सौम्य, आनन्दित रहन सक्छन् यस्ता व्यक्तिहरू ।
जीवनसँग लडेर होइन, जीवनसँग बहेर जिउने व्यक्ति सहजताका साथ जिउन सक्छ । यिनै सूत्र र प्रेरणादायी शिक्षाबाट पत्ता लाग्छ कि हामी कुन आयामबाट जीवन बाँचिरहेका छौं र जीवनमा के खोजिरहेका छौं ?