काठमाडौंलाई किन ‘गार्डेन सिटी’ नबनाउने ?

Lifestyle

मुलुकको राजधानी, काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र । कुनै कामकाज वा घुमफिरका लागि तपाईं जब काठमाडौं प्रवेश गर्नुहुनेछ, धुलो र धूँवाको कुइरिमण्डलले छोप्नेछ । पट्यारलाग्दो जाम, चर्को होहल्ला, अस्तव्यस्त शहर देखेर तपाईंलाई दिक्क लाग्नेछ ।
फराकिलो फाँट, सलल बग्ने कञ्चन खोलानाला, छर्लङ्ग देखिने हिम-चुचुरा । कुनैबेला काठमाडौं भूस्वर्ग जस्तै थियो । तर, जथाभावी घर-निर्माण एवं अव्यवस्थित शहरीकरण, प्राकृतिक स्रोतको विनासले राजधानी शहरलाई कुरुप बनाइदिएको छ ।
काठमाडौं विश्वकै प्रदूषित शहरको रुपमा बदनाम छ । गाडी, कल-कारखाना र भौतिक निर्माणका गतिविधिले काठमाडौंको वायुलाई विषालु बनाइदिएको छ ।
लथालिंङ शहर
मुलुककै राजधानी शहर, त्यसैमाथि नेपालकै पहिलो महानगरपालिका समेत रहेको काठमाडौं अझै पनि किन व्यवस्थित हुन सकेन ? यो प्रश्नको उत्तर धेरैले सहजै रुपमा दिन्छन् कुशल नेतृत्वको अभावका कारण । तर, के एउटा कुशल नेतृत्वकै कारण आजको भोलि नै चामत्कारिक परिवर्तन सम्भव छ त ?
अहिले अतिक्रमित टुँडिखेल फिर्ता गर्नको लागि अकुपाइड टुँडिखेलको अभियान चलिरहेको छ । साइकल सिटीको अभियान पनि बेलामौकामा सक्रिय हुने गर्छ । प्रदूषण नियन्त्रणका लागि पनि केही समूह सक्रिय छन् । यी अभियान आखिर के का लागि ? यो आजको भोलि नै चामत्कारिक परिवर्तनको लागि हो या त दीगो विकासको लागि ?

अन्तराष्टि्रय स्तरमा व्यवस्थित शहरको इतिहास र विकासक्रमलाई हेर्ने हो भने कुनै पनि शहरलाई आजको भोलि नै व्यवस्थित गराउन सम्भव देखिँदैन । स्पष्ट योजना र दृढ इच्छाशक्तिले नै यो सम्भव भएका धेरै उदाहरण हामी पाउन सक्छौं ।
अस्ट्रेलियाको क्यानबेरा शहर विश्वको एउटा उत्कृष्ठ गार्डेन सिटी मध्येको एक हो । सन् १९०० को पहिलो दशकदेखि वाल्टर बुर्ली ग्रिफिन र उनकी पत्नी मारियोन महोनी गि्रफिनको योजनाद्वारा बनेको यो शहर झण्डै एक शतकपछि मात्रै योजना अनुसारको व्यवस्थित बनाउन सकेको पाइन्छ । जसरी अहिले काठमाडौंमा खुल्ला ठाउँ र हरियाली अभियानहरु सञ्चालित छन् । त्यो बेलामा पनि अभियानकर्ताहरुले गार्डेन सिटीको अवधारणालाई समेत बोकेका थिए ।
बगैँचाको शहर (गार्डेन सिटी) को अवधारणा बोकेर स्पष्ट योजनासहित अघि बढेको सो शहरले सबैभन्दा पहिले औद्योगिक क्षेत्र, आवाशीय क्षेत्र र नगर क्षेत्रलाई विभाजन गरेर भिन्दा भिन्दै ठाउँमा यसको व्यवस्था मिलायो । औद्योगिक क्षेत्रमा उद्योगधन्दा, कलकारखानाहरु सञ्चालन गरिए । अर्काे नगर क्षेत्रमा व्यापार व्यवसाय र सेवा क्षेत्रका कामहरु सञ्चालन गरिए । आवाशीय क्षेत्र केवल आवासको लागि मात्रै व्यवस्थित गरियो । यो विभाजनसँगै त्यसमा गि्रनबेल्ट, पार्क आदिको विकास पनि गरियो ।
यसरी शहरलाई व्यवस्थित गर्ने क्रममा केही समयसम्म क्यानबेराले हरियाली शहरका अभियान्ताहरुबाट धेरै आलोचना पनि खेप्नु पर्‍यो । उनीहरुको योजना नै असफल हुन्छ भनेर पनि धेरैले वकालत गरे । तर, ती सबै वकालतहरु बिस्तारै आफैं आत्मालोचनाको मार्फत् विलीन हुँदै गए ।
नगरपालिकाले सन् १९१२ मा शहरी विकासको योजना पेश गर्नको लागि खुल्ला प्रतिस्पर्धा गरेको थियो । जसमा धेरै शहरी विकाससम्बन्धी योजनाकारहरुले योजना पेश गरे । तर, ती मध्ये बुर्ली ग्रिफिन दम्पत्तिको योजना सबैकोभन्दा राम्रो ठहर भयो । सोही अनुसार उनीहरुलाई स्वतन्त्र रुपमा शहर व्यवस्थित गराउने काम गर्न दिइयो । सुरुमा यो नगरले पनिे गार्डेन सिटीको अवधारणा आफ्नो योजनामा जोडेको थिएन । सन् १९९० को दशमा आएपछि मात्रै बल्ल त्यो शहरले एउटा व्यवस्थित र गार्डेन सिटीको अवधारणा अनुसार पूर्वाधार तयार पारेको थियो ।
त्यस्तै, अर्काे उदाहरण हामी जर्मनीको पहिलो गार्डेन सिटी हेलेराउ शहरलाई लिन सक्छौं । ड्रेसडेन शहरबाट ४ माइल टाढा रहेको यो ठाउँको वरिपरी विभिन्न किसिमका कलकारखानाहरुलाई व्यवस्थित रुपले स्थापना गरिएको छ ।
गार्डेन सिटीको अवधारणामा आधारित यो शहरलाई रिचार्ड स्मिथले व्यवस्थित गरेका थिए । यो निःस्वार्थ शहरी विकासको योजना अनुसारभन्दा पनि आफ्नो उत्पादन बिस्तार गर्नको लागि बनाइएको शहर थियो । उनले आफ्नो कारखानाको नजिकै एउटा औद्योगिक क्षेत्र स्थापना गरे । त्यसमा काम गर्ने कामदारहरुको लागि एकीकृत बस्तीको व्यवस्था अर्कै ठाउँमा गरे । छुट्टा छुट्टै बनेका ठूला ठूला घरहरु र सार्वजनिक क्षेत्र सहित एउटा व्यवस्थित बस्तीको अवधारणा तयार पार्न पनि उनलाई कैयौं वर्ष लागेको थियो ।
उनले सोही समयमा सांस्कृतिक कार्यक्रम नै सामुदायिक विकासको लागि महत्वपूर्ण रहेको निष्कर्ष निकालेर यसलाई व्यवस्थित रुपमा अघि बढाए । अहिले सो क्षेत्रमा कूल २००० परिवारका ८००० मानिसहरु बसोबास गर्छन् । जुन ४०० एकड क्षेत्रफलमा फैलिएको छ ।
यो शहरमा केही फरक किसिमका सुविधाहरु पाइन्छ । यसमा औद्योगिक क्षेत्र शहरभन्दा भिन्न ठाउँमा रहेकोले त्यसको कम असर पर्ने, सांस्कृतिक कार्यक्रम मार्फत् नियमित मनोरञ्जन, घरबाट सहज रुपमा यात्रा गर्न सकिने ठाउँमा रोजगारीको अवसर र एकीकृत एवं सुलभ यातायात प्रणाली यहाँको विशेष सुविधा हो ।

यी दुई मोडलहरु शहरी विकासको लागि प्रयोग भएका मोडलहरु हुन् । यो सिद्धान्तले भन्दापनि स्पष्ट भिजनका कारण व्यवस्थित भएका शहरहरु हुन् । हामीले पनि काठमाडौंलाई हरियाली बनाएर गार्डेन सिटीको रुपमा अघि बढाउने कि भएको रुख पनि बिनास गरेर कंक्रिट सिटी बनाउँदै लैजाने भन्ने सोच्ने बेला भएको जानकारहरु बताउँछन् । व्यवस्थित गराउने प्रयासमा जुटिरहँदा हाम्रा अधिकांश शहरहरु भने दिनप्रतिदिन प्रदूषण र अव्यवस्थाको शिकार बन्दै गएको छ । बढ्दो शहरीकरण, उद्योगधन्दाको धुवाँ, सवारीसाधनको तीब्र चाप आदिका कारण मुलुककै राजधानी शहर काठमाडौं उपत्यकाबासीहरु विभिन्न रोगको शिकार बन्दैछन् ।
यस्तो अवस्थामा कसरी यसलाई व्यवस्थापन गर्ने ?
पूर्व सचिव समेत रहेका शहरी विकास सम्बन्धी योजनाकार किशोर थापा शहरको विकास निरन्तर चलिरहने प्रक्रिया भएकोले यसमा पूर्वाधार र जनसंख्या कम गर्नेभन्दा पनि यसलाई व्यवस्थापन गर्ने तर्फ ध्यान दिनुपर्ने बताउँछन् ।
पुनर्निर्माणको क्रममा वातावरण र विकासबीच सन्तुलन गर्न सकेमात्रै दीगो शहरी विकास सम्भव रहेको भन्दै थापाले व्यवस्थित शहरको पहिलो शर्त नै हरियाली रहेको बताए । ‘जसरी चक्रपथ बिस्तार लगायत विभिन्न काममा रुख कटान गरिएको छ ।’ उनले भने ‘यसलाई यत्तिकै छाडियो भने यसले व्यवस्थित शहरी विकासमा भने बाधा उत्पन्न गराउन सक्छ ।’ कसरी शहरलाई व्यवस्थित गर्ने भन्नेबारे सोच्नुपर्ने बेला भएको उनले बताए । चक्रपथ बिस्तारको क्रममा अहिलेदेखि नै बगैँचा बनाउँदै गएर सडक बिस्तारको काम सकिएपछि एकैपटक ठूला रुखहरु रोप्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापित उपत्यकाका खाली ठाउँहरु राणा शासनकालमा जस्तै थुनेर राखिएको भन्दै त्यस्ता ठाउँहरु जनताको लागि खुल्ला गर्नुपर्ने बताए । रत्नपार्क शान्तिबाटिका, नारायणहिटी संग्रहालय अघिको चौर, केशरमहलको चौर जस्ता उपत्यकाका खाली ठाउँहरु बन्द गरिनु आवश्यक नभएको उनले बताए ।

पूर्वप्रमुख स्थापितले काठमाडौंको शहरी क्षेत्रको विकासको लागि हेटौंडा या चितवन जस्ता क्षेत्रमा एउटा व्यवस्थित बस्ती बसाउने र रेल सुविधाले नियमित काठमाडौं आउन सक्नेगरी सुविधा बिस्तार गरेर काठमाडौंको चापलाई कम गराउँदै लैजानु पर्ने सुझाव दिए ।
अर्काे तर्फ जानकारहरु शहरी विकासमा हरियाली विकासको लागि कौसी खेतीको विकास गर्नुपर्ने सुझाव समेत दिए । हरियाली केवल ठूला ठूला रुखहरुबाट मात्रै प्राप्त नहुनेभन्दै हरियाली व्यवस्थापनको लागि कौसी खेती समेत एउटा विकल्प रहेको पूर्व सचिव थापाले जानकारी दिए ।