आफ्नै कलेजो प्रत्यारोपणपछि डाक्टरको नयाँ सेवा

Lifestyle

१६ मंसिर, काठमाडौं । २८ नोभेम्बरका दिन डा. रुपनारायण साहले हालै कलेजो प्रत्यारोपण गरेर पुनर्जन्म पाएको तेस्रो वार्षिकोत्सव मनाएका छन् । उनलाई कलेजो दान दिएर बचाउने चाहिँ आफ्नौ दिदी उमादेवी साह हुन् ।
डा. साहले नयाँ जीवन पाएसँगै नेपाली चिकित्सा क्षेत्रमा नयाँ किसिमको सेवा दिने प्रयास थालेको पनि आगामी साता तेस्रो वर्ष पुग्दैछ । सामान्यतः ३० लाख मानिसमध्ये एक जनामा देखिने दुर्लभ विल्सिन डी-२ ले गर्दा लिभर सिरोसिस रोगसँग लडेर उनले नयाँ जीवन पाएका हुन् । ‘सबै मानिस एक दिन मर्नैपर्छ, मेरो अवधि मलाई थाहा छ’, डा. साह भन्छन्, ‘यो अवधिमा अधिकतम सेवा दिनु मेरो प्रयास रहने छ ।’
अस्पतालको बेडबाट दीक्षित डाक्टर
बारा जिल्लाको खोपवा गाउँको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका रुपनारायण साहले गाउँबाटै एसएलसी उत्तीर्ण गरे । उनको चिकित्सा शिक्षा पढ्ने इच्छा पारिवारिक सहयोगमा २०६५ सालमा पूरा भयो । चीनमा एमबीबीएस गरेका उनले नेपाल फर्किएलगत्तै वीर अस्पतालमा इन्टर्न र एनएमसी गरे ।
वीरमा काम गर्दागर्दै उनलाई हातखुट्टा सुन्निने, आँखा पहेँलिने, अचानक कडा ज्वरो आउने, जण्डिस हुने जस्ता एकपछि अर्को समस्याले सताउन थाल्यो । परीक्षण गर्दा उनमा डब्लूबीसी र पेटलेट्स एकदमै कम देखियो । वीरमै गरेको लामो अनुसन्धानले उनलाई लिभर सिरोसिस भएको पत्ता लाग्यो । धूमपान, मद्यपान नगर्ने, हेपाटाइटिस नभएको जवान मान्छेलाई यो कसरी भयो ? डाक्टरहरु छक्क परे ।

त्यसबीचमा डा. साहले आफ्नो उपचारदेखि वीर, नर्भिकलगायतका अस्पतालमा काम गरे । आफ्नो उपचारका लागि विभिन्न अस्पताल धाउने क्रममा भारतको अपोलो अस्पतालले २०६८ सालमा वीर अस्पतालको अनुसन्धानलाई सही साबित गर्दै भन्यो, ‘क्रिप्टोजोनिक लिभर डिजिजले साहको कलेजो पूरै ‘ड्यामेज’ छ ।’
त्यसपछिको पाँच वर्षमा उनले प्रत्यरोपणका लागि आर्थिक जोहो र कलेजो दाताको खोजी गर्नेदेखि जनरल मेडिसिनमा चीनबाट एमडी उत्तीर्ण गरे । साहको लागि जुनसुकै बेला जे पनि हुने समय थियो त्यो । उनले एमडीको अन्तिम परीक्षा र थेसिसलाई अन्तिम रुप चीनको एक अस्पतालको बेडबाटै दिए । ‘दीक्षान्तको डिग्री पनि अस्पतालको बेडबाटै लिने सम्भवतः म नै पहिलो डाक्टर हुँला’, साह भन्छन् ।
कलेजो प्रत्यारोपणपछि उब्जिएको सोच
नेपालमा प्रत्यारोपण नहुने भएपछि डा. साह बडा दुःखले जम्मा पारेको ४० लाख भारु र कलेजो दाता ठूली दिदी उमादेवीलाई लिएर मेदान्त अस्पताल गए । १३ मंसिर २०७३ मा मेदान्तमा उनको कलेजो प्रत्यारोपण भयो । तीन दिन आईसीयू र चार दिन वार्डमा बसेर उनी डिस्चार्ज भए ।
उनको लागि दैनिक परीक्षण र ड्रेसिङ अनिवार्य थियो । काका र दिदीले उनका लागि अस्पताल नजिकैको गेष्ट हाउसको कोठामा पारामेडिक्सको व्यवस्था गरेका थिए । त्यही बेला उनलाई लाग्यो– दैनिक अस्पताल जान नसक्ने जटिल अप्रेसन भएका बिरामीका सेवाका लागि मैले कुनै विधि विकास गर्नैपर्छ ।
मेरो अस्पताल
काठमाडौंको बिजुली बजार (बुद्धनगर) मा निर्माणाधीन आर्कब्रीज नजिकै पर्छ अनलाइन हेल्थ केयर प्रा.लि. । बानेश्वरबाट बबरमहल तर्फ जाँदा आर्कब्रीज पार नभई बायाँतर्फ खोला किनारको सडकबाट अघि बढेपछि घुम्ती अगाडि बुद्धनगरमा निलो रङको चार तले घरमा ‘मेरो अस्पताल’को बोर्ड देखिन्छ ।
अनलाइन हेल्थ केयर प्रालि अन्तरगतको ‘मेरो अस्पताल’ खुलेको तीन वर्ष भयो । अस्पतालको परिकल्पनाकार र सञ्चालक उनै डा. रुपनारायण साह हुन् ।

बाहिरी आवरणमा मेरो अस्पताल काठमाडौंका अन्य क्लिनिकहरु जस्तै देखिन्छ, तर सेवाको हिसाबले नेपालको लागि विल्कुलै नयाँ प्रयोग हो यो । अस्पतालमा विभिन्न विधाका चिकित्सकसहित ३० जनाभन्दा धेरै स्वास्थ्यकर्मी कार्यरत छन् । आफैं पनि दैनिक १६ घण्टासम्म खटिइरहेको डा. साह बताउँछन् ।
मेरो अस्पतालमा आकस्मिकसहित जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री रोग, बालरोग लगायत १० प्रकारका विशेषज्ञ सेवा उपलब्ध छ । डा. साह भन्छन्, ‘होम केयर सर्भिस चाहिँ मेरो अस्पतालको विशेषता हो ।’
डा. साहका अनुसार होमकेयर सर्भिस नेपालका लागि नयाँ स्वास्थ्य सेवा हो । यसमा बिरामीको आवश्यकताअनुसार घरमै सबै खाले स्वास्थ्य सुविधा दिनेदेखि आपतकालीन अवस्थामा अस्पताल पुर्‍याउनेसम्मका सेवा हुन्छ । मेरो अस्पतालबाट घरमै बिरामीले ९ प्रकारका सेवा प्राप्त गर्न सक्नेछन् । मेरो अस्पतालले डक्टर अनकल, चौबीस घण्टे नर्सिङ सेवा, फिजियोथेरापी, सर्जिकल केयर, मेडिकल प्रोसिड्युर, बच्चा तथा आमा केयर, डाइट तथा न्यूट्रिसन सपोर्ट, भ्याक्सिन, औषधि डेलिभरी र प्याथोलोजी सेवा दिने गरेको छ ।
‘डक्टर अनकल’ सेवामा टेलिफोनबाट विरामीको समस्याबारे जानकारी लिएर आवश्यकताअनुसार पारामेडिक्सदेखि विशेषज्ञ डक्टरसम्म घरैमा उपलब्ध हुने व्यवस्था छ । पारामेडिक्स सेवामा हेल्थ असिष्टेन्ट, सीएमए, नर्सिङ केयरजस्ता सेवा बिरामीको इच्छाअनुसार घरमै उपलब्ध गराइन्छ । यसमा घाउ ड्रेसिङ र प्रेस्क्रिप्सन अनुसारको औषधि पुर्‍याइिदनेदेखि औषधि खुवाउनेसम्मका सेवा हुन्छ ।
प्याथोलोजी सेवामा घरैबाट रगत, दिसा, पिसाबको नमूना संकलन गरेर बिरामीले रोजेको ल्याबमा पुर्‍याएर रिपोर्ट ल्याइदिने काम हुन्छ । कुनै अस्पतालका कुनै डाक्टरलाई भेट्न समय चाहिएको छ भने त्यो व्यवस्था मिलाइदिने काम मेरो अस्पतालले गर्छ । र, अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी हेल्थकेयर इन्टरनेशनलले लिएको छ ।
सेवा, शुल्क र विश्वास
मेरो अस्पतालको सेवा शुल्क पनि नेपालका अन्य अस्पतालहरुमा लाग्ने शुल्क र हुने अलमललाई हेर्ने हो भने सस्तै लाग्ने डा. साह बताउँछन् । उनी भन्छन्, ‘अशक्तता वा परिवारका सदस्यको व्यस्तताका कारण अस्पतालसम्म पुग्न नसक्ने, अस्पतालको भिड र ढिलासुस्तीका कारण काम बिग्रिनेहरुका लागि हाम्रो सेवा सस्तो र किफायती छ ।’

मेरो अस्पतालका कन्सल्टेन्ट डाक्टर घरमा बोलाउनुपर्‍यो भने बिरामी पक्षले एक पटकको २५ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै आठ घण्टाको नर्सिङ सेवा लिनुपर्दा आठसय रुपैयाँ तिरे पुग्छ । ल्याब परीक्षण सेवावापतको मूल्य सम्बन्धित ल्याबले तोके बराबर नै हुने डा. साहले बताए । ‘नेपालका अस्पतालहरुले एन्जी ट्युब राख्दा रु.१५ सय लिन्छन्’, उनी भन्छन्, ‘हामी त्यति नै शुल्कमा घरमै आएर त्यो सेवा दिन्छौं ।’
त्यस्तै एम्बुलेन्स, घाउ ड्रेसिङ, फिजियो तथा अकुपन्चर थेरापी जस्ता सेवाको मूल्य पनि तुलनात्मक रुपमा मेरो अस्पतालमा सस्तो रहेको उनी बताउँछन् ।
समाजमा बढ्दो एकल परिवार प्रणाली र मानिसहरुको व्यस्तताका कारण मेरो अस्पतालको सेवाको प्रभावकारिता बढ्ने डा. साह बताउँछन् । नेपाली अस्पतालहरुको अव्यवस्थाले पनि यो खालको सेवा लोकप्रिय हुने वातावरण बनेको उनी ठान्छन् ।
‘अल्जाइमर, डिमेन्सिया, पार्किनसन्स, क्यान्सर, प्यारालाइसिस जस्ता रोगका बिरामीहरुका लागि हामीले दिनेजस्तो सेवा ज्यादै उपयोगी हुन्छ’, डा. साह भन्छन्, ‘मानिसलाई वाध्यता, आवश्यकता र पीडाको अवस्थामा साथ दिने भएकाले मेरो अस्पतालप्रतिको विश्वास र अस्पतालको दायित्व बढेरै जानेछ ।’
सफलता नै चुनौती
बिरामीलाई चाहिने सबै किसिमका सेवा घरमा नै दिने हुनाले अरु अस्पतालभन्दा पृथक ‘मेरो अस्पताल’ फैलदो अवस्थामा छ । आफ्नोलागि यो नै चुनौती भएको डा. साह बताउँछन् । ‘कसैको, कुनै पेशा–व्यवसाय सफल भयो भने ठ्याक्कै कपी गरेर त्यही गर्न थाल्ने नेपाली चलन मेरो अस्पतालको पहिलो चुनौती हो’, उनी भन्छन्, ‘घर–घरमै गएर सेवा दिन दक्ष जनशक्ति हिच्किचाउने चुनौतीचाहिँ हामीले पार गरिसकेका छौं ।’
कसले कति समय, कहाँ, के काम, कसरी गर्ने भन्ने स्पष्ट नीति र व्यवस्थाका कारण नयाँ अवधारणाको सेवा भन्दै मन लगाएर काम गर्ने विषेशज्ञ डाक्टरदेखि प्यारामेडिक्ससम्मका जनशक्ति जम्मा भइसकेको डा. साहले बताए ।