चिकित्सकीय लापरबाहीको त्रास

Lifestyle

दुई वर्ष अघि फाल्गुन महिनामा देब्रे खुट्टाको लिगामेन्ट च्यापियरको उपचारको लागि काठमाडौंको नर्भिक अस्पताल पुगेकी चितवनकी बिन्दु पौडेलको चिकित्सकहरुले लापरबाही गरेर दाहिने खुट्टाको अप्रेसन गरिदिए । समस्या भएको खुट्टा जस्ताको त्यस्तै थियो । केही पनि नभएको खुट्टाको अप्रेसन गरेपछि एकाएक अस्पतालमा हंगामा भयो ।
अस्पतालको कमजोरी भएपछि अस्पताल डरायो । एक्कासी बिरामी पक्षलाई बैठकमा बोलायो । बिरामी पक्षसँग भएको सम्झौता अनुसार बिन्दुको दुइटै गोडामा भविष्यमा आउने सबै समस्या र नसाको उपचार निशुल्क गर्न अस्पताल मञ्जुर भएको छ । त्यस्तै, नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल सहमत भयो ।
सोही वर्षको माघ महिनामा धौलागिरि अञ्चल अस्पतालका चिकित्सकहरुले सुत्केरी गराउन पुगेकी एक गर्भवती महिलाको शरीर भित्रै प्याड सहित टाँचा मारेको समाचार बाहिर आयो । यसले पनि ठूलै हलचल गरायो ।
यी उदाहरणहरु चिकित्सकहरु कतिसम्म उपचारको क्रममा लापरबाही गर्छन् भन्ने उदाहरण हो । स्वास्थ्य जस्तो संवेदनशील कुरामा एकातिर चिकित्सकहरुको लापरबाही व्यापक मात्रामा देखिन्छ भने बिरामीहरु पनि चिकित्सकहरुको सुझावलाई ध्यान नदिने हुँदा धेरैको स्वास्थ्य औषधिको व्यवस्थापन र खान नजानेर पनि हुने गर्छ । अञ्जानमा हुने गल्तीलाई छाड्ने हो भने चिकित्सकहरुको हेलचेक्र्याईंले समेत मान्छे मर्ने समस्याहरु समेत हरेक वर्ष देख्न सकिन्छ ।
काठमाडौंका नाम चलेका अस्पतालहरुमा डाक्टरको कमजोरीको कारण बिरामीको ज्यान गएको भनेर बेलाबेलामा ठूलै बबण्डर हुने गर्छ । चिकित्सकहरुले औषधि दिन्छन् तर राम्रोसँग समस्या नै नबुझी दिएको औषधि पनि कत्तिको प्रभावकारी हुन्छ ? भन्ने विषयमा अध्ययन गर्ने कुनैपनि निकाय छैन । अर्काे तर्फ चिकित्सकहरुले दिएको औषधिमा बिरामीको समेत लापरबाह भेटिन्छ ।
समयमा औषधि नखाने, औषधि भण्डारणमा ध्यान नदिने जस्ता समस्याले गर्दा पनि स्वास्थ्यमा असर पर्ने गरेको जानकारहरु बताउँछन् । स्वास्थ्य सम्बन्धी अनुसन्धानमा सक्रिय रहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. शिवराज अधिकारी चिकित्सक र बिरामीबीच राम्रोसँग कुराकानी नै हुन नपाउँदा पनि धेरै बिरामीको स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको बताउँछन् । विभिन्न अध्ययनले त्यस्ता बिरामीहरुले पहिले नै खाँदै आएको औषधिहरुको बारेमा पर्याप्त जानकारी नै नदिँदा त्यसको असर शरीरमा अर्काे तरिकाले हुने गरेको बताए ।
केही समय अघि मृगौला बिक्रीको आरोपमा ललितपुर स्थित निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ परे । त्यसको केहीदिन पछि मेडिसिटी अस्पतालका एक चिकित्सक रोहितकुमार झा बिरामीमाथि बलात्कारको प्रयासको आरोपमा पक्राउ परे । विभिन्न बाहानामा काठमाडौंका अन्य अस्पतालहरुमा पनि अस्पताल प्रशासन र चिकित्सकहरुको लापरबाहीको कारण समय समयमा विवाद चलिरहेको हुन्छ । तर, किन सधैं चिकित्सकहरु यस्तो विवादमा आइरहन्छन् त ?

चिकित्सकहरु यस्ता गम्भीर मानिने गल्तीहरु पनि आफ्नै कारणले हो भनेर मान्न तयार छैनन् । अस्पतालमा भर्खरका सिकारुलाई जिम्मा लगाउने र डाक्टरहरु अन्यत्रै व्यस्त भइदिँदा धेरैबिरामीहरु सशंकित हुने गरेका छन् । एकजना अनुभवी चिकित्सकहरुको साथमा राख्नुपर्ने सिकारुकै भरमा धेरै अस्पतालहरु चलिरहेका देखिन्छन् । यस्तो अवस्थामा बिरामीहरुमा केही समस्या आयो भने त्यसको सिधै आरोप चिकित्सकहरुमाथि लगाउने गरिएको छ । यसरी नै चल्दै आएको छ डाक्टर र बिरामीहरुको सम्बन्ध । मर्नेहरु मरिरहन्छन् । मरेका परिवारले केही क्षतिपूर्ति पाएपछि आन्दोलन सामसुम पार्छन् । त्यो विषय त्यसै बिट मारिन्छ ।
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले चिकित्सकहरुबाट पनि कुनै समयमा त्रुटी हुन सक्ने भन्दै त्यस्ता चिकित्सकहरुलाई कारबाहीको व्यवस्था रहेको बताउँछन् । चिकित्सकको कारणले आफ्नो स्वास्थ्यमा समस्या भएको भनेर मेडिकल काउन्सिलमा उजुरी दिएको अवस्थामा त्यस्ता बिरामीलाई आवश्यक क्षतिपूर्ति दिन सक्ने व्यवस्था रहेको उनले बताए । तर, उनले भनेजस्तो चिकित्सकहरुले दिएको गलत औषधिको बारेमा उजुरी गर्नसक्ने बिरामी को होला ?
उनका अनुसार कुनैपनि चिकित्सकले उपचारको क्रममा लापरबाही भएको भेटिए उसलाई निलम्बन गर्ने र दर्ता किताबबाट नाम हटाउनसम्म सक्ने अवस्था छ । क्षतिपूर्तिको विषयमा भने मुद्दा नपरेसम्म काउन्सिलले केहीपनि कारबाही अघि बढाउँदैन । तर, त्यो प्राविधिक विषय जानेर उजुरी गर्नेहरु अत्यन्तै कम हुने गरेका छन् ।
पौडेलका अनुसार वाषिर्क ७० देखि ८० वटा उजुरीहरु चिकित्सकहरुको लापरबाही भएको भनेर आउने गरेका छन् । त्यस्ता उजुरीहरुमा ४/५ प्रतिशत गम्भीर किसिमका हुने गर्छ । तर, त्यस्ता अधिकांश उजुरीहरु अस्पतालमा हो-हल्ला गरेर मिलेमतो गरेपछि फिर्ता लिने गरिन्छ । उजुरी फिर्ता भएपछि मेडिकल काउन्सिललाई पनि हाइसन्चो र अस्पताललाई पनि । त्यस्तो समस्या किन भयो ? भन्ने विषयमा कुनैपनि खोजी हुने गरेको छैन ।
नेपालमा यसरी चिकित्सकहरुको त्रुटीका कारण कति मानिसको ज्यान जाने गरेको छ ? भन्ने यकीन अध्ययन त भएको छैन । तर, दुई वर्ष अघि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच जना चिकित्सकहरुको टोलीले एउटा अध्ययन गरेका थिए । उनीहरुले दुई वर्षसम्म सो अस्पतालमा भएका गतिविधिहरुको अध्ययन गरी त्यसको प्रतिवेदन बुझाएका थिए । त्यसमा उपचारको क्रममा मृत्यु भएकाहरुमध्ये सबैको मृत्यु चिकित्सककै लापरबाहीको कारण मात्रै नभएको दाबी गरिएको छ । यसमा समयमा रोग पहिचान हुन नसक्नु, एउटा अस्पतालको प्रोटोकल अर्काेले बुझ्न नसक्नु, बिरामीको लापरबाही जस्ता समस्याहरु उल्लेख गरिएको छ ।

संसारभर चिकित्सकीय त्रुटीका कारण निकै ठूलो संख्यामा बिरामीको ज्यान जाने गरेको विभिन्न अध्ययनहरुले जनाएको छ । सन् २०१६ मा जोन हप्किन्स मेडिसिन हस्पिटलले गरेको एक अध्ययनको क्रममा प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी अस्पतालहरुमा ज्यान जानेमध्ये २ लाख ५० हजार जनाको ज्यान चिकित्सकीय लापरबाहीको कारण हुने गरेको छ । अझ अरु रिपोर्टहरुले त झनै यो संख्या ४ लाख ४० हजार रहेको बताएको छ ।
अमेरिकामा सबैभन्दा धेरै मुटु रोगका कारण मानिसले ज्यान गुमाउने गरेका छन् । मुटु रोगका कारण ज्यान गुमाउनेको संख्या २०१३ मा ६ लाख ११ हजार थियो । त्यस्तै, दोस्रोमा क्यान्सर रोगबाट मृत्यु हुनेको संख्या ५ लाख ८४ हजार रहेको छ । तेस्रो नम्बरमा चिकित्सकको लापरबाहीका कारण मान्छे मर्ने गरेका छन् ।
सो अध्ययनका अनुसार यस्ता मेडिकल त्रुटिहरू स्वाभाविक रुपमा डाक्टरको कमजोरी मुख्य भएपनि डाक्टरको कमजोरीका कारण मात्रै यी घटनाहरु घट्ने गरेका छैनन् । ती त्रुटीहरु रिपोर्टको कार्यान्वयन गर्ने, प्रणालीगत समस्याका कारण र डाक्टरहरुको खराब समन्वयको कारण पनि हुने गरेको छ ।
चिकित्सा क्षेत्रमा विवादको एक मुख्य कारण बिरामीहरूको असन्तुष्टि हो । चिकित्सकहरुले आफ्नो समस्यालाई हल्का रुपमा लिइदिँदा मानसिक रुपमा पनि बिरामीहरुमा नकारात्मक भाव पैदा हुने गर्छ ।