पैसासँग खुशी साँटेको भुटानको कथा

Lifestyle

कुनै समय सार्क राष्ट्र मात्रै नभएर संसारकै धेरै जनता खुशी भएको राष्ट्रको रुपमा परिचित थियो भुटान । झण्डै ५ दशक पहिलेसम्म सम्पत्तिमा केही पछि भएपनि संस्कृति र मौलिकताले जनता सन्तुष्ट थिए, जनताको त्यही सन्तुष्टिले राष्ट्र समृद्ध थियो । सबैका ठूला आवश्यकता थिएनन् । ब्रहृमाण्ड उत्पत्तिको चिन्ता कसैलाई थिएन । सबै आफैं भित्रको ब्रहृम तत्व जगाएर बसेका थिए । जे आवश्यक थिए ती सबै आफैं पूरा गर्न सक्षम थिए । प्रतिस्पर्धा खुशीको लागि थियो, पैसाको लागि थिएन ।
कुरा १९७४ सालसम्मको हो । जबसम्म भुटानमा बाहिरी पर्यटकहरुको लागि प्रवेशको अनुमती दिइएको थिएन । त्यतिबेलासम्म भुटानीहरुले आˆनो क्षमताभन्दा बाहिर गएर कुनै कुरा प्राप्तिको चाहाना राख्दैन’थे । तर, ७० को दशकमा सरकारले ल्याएको बाहिरी पर्यटकलाई प्रवेश गर्नसक्ने नीतिसँगै ती खुशीहरु क्षणिक हुन थाले, चाहानाहरु बढ्न थाले र समग्रमा त्यहीँबाट सुरु भयो भुटानको दुःख ।
सन् १९७० को दशकमा विश्व प्रतिस्पर्धा र संघर्षमा गुजि्रँदै थियो । राजनीतिक भूमरीमा फसेका भूराजनीतिक सम्बन्धहरु उथलपुथल भएका थिए । भर्खरै भारत र पाकिस्तानको युद्ध सकिएको थियो । । एउटा युद्ध सकिएपनि अर्काे युद्धको त्रास आम मानिसमा अझै हटेको थिएन । चीन र भारतको युद्धको राप पनि छिटपुट बाँकी नै थियो । पाकिस्तान टुकि्रएर बंगलादेश बन्ने प्रक्रियाले पूर्णता पाउँदै थियो । समग्रमाभन्दा दक्षिण एशियाली मुलुकका नागरिकहरु यही कारणले पनि खुशी हुन सकिरहेका थिएनन् । तर, यो भूराजनीतिक कलहबाट मुक्त थियो भुटान ।
विश्व एकातिर थियो भने भुटानमा आनन्दको अर्काे संसार चलिरहेको थियो । जहाँ आफ्नो संस्कृति र परिश्रममा रमाउनेहरुको कमी थिएन । खान पाइएन भन्नेहरुको संख्या थिएन । अरुले संस्कृति माथि हस्तक्षेप गरे भन्ने गुनासो पनि थिएन । यसरी नै चल्दै थिए दिनहरु ।
सन् १९७२ को जुलाईमा सत्तामा आएपछि तत्कालीन भुटानी चौथा राजा जिग्मे सिंगे वाङ्गचुकलाई आफ्ना जनताहरुको खुशी मापन गर्न मन लाग्यो । झण्डै ३४ वर्ष भुटानमा राजा बनेका सिंगे जहिलै पनि भन्ने गर्थे मानिसको खुशीभन्दा ठूलो कुरा केही पनि होइन । तर, उनकै कार्यकालमा नै भुटानीहरुको स्थायी खुशी खोसिँदै छ भन्ने कुरा न त उनले बुझे न त सरकारका अरुले नै । सकल राष्टि्रय खुशी नै कूल गार्हस्थ उत्पादनको एउटा मूल कसी हो भन्ने जिग्मेको बुझाई थियो । भुटान एउटा यस्तो मुलुक हो जसले सकल घरेलु खुशीलाई कूल गार्हस्थ उत्पादनभन्दा पनि महत्वका साथ हेर्ने गर्छ ।
सोही योजना अनुसार उनको शासनको दोस्रो वर्षमा भुटानले सकल राष्टि्रय खुशीको सर्वेक्षण गर्न सुरु गर्यो । मनोवैज्ञानिक कल्याण, स्वास्थ्य, शिक्षा, समयको प्रयोग, सांस्कृतिक विविधता र लचिलोपन, सुशासन र सामुदायिक जीवनशैली खुशी मापनका सूचक थिए ।

त्यसअघि यसरी खुशीको व्यवस्थित रुपले खोजी गर्ने मुलुक अरु सायदै थिएनन् होला । त्यतिबेला भुटानीहरु आफ्नै परम्परा र चालचलनमा रमाइरहेका थिए । झण्डै ७५ प्रतिशत महायानी बौद्धमार्गीहरु थिए । एकाध बाहेक देश बाहिर जानेहरुको संख्या निकै कम थियो । जो पायो उही देश भित्र आउन समेत सक्ने थिएन । जीवन त्यही ३८ हजार वर्ग किलोमिटरको परिधिभित्र नै खुशी थियो । शारीरिक दुःखले भुटानीहरुको खुशी खोस्न सकेको थिएन । पाली भाषाको त्रिपिटक पढ्नको लागि कसैले रोकेका थिएनन् । बुद्धलाई केवल महापुरुषको रुपमा मान्नेलाई यिनी देवता हुन् भन्न कसैले सिकाएको थिएन । यही अग्र्यानिक जीवनशैली र मौलिकतामा नै रमिरहेका थिए भुटानीहरु ।
त्यही समय हो, दक्षिण एशियाको क्षेत्र भित्र कोही सबैभन्दा खुशी छ भन्ने थियो भने निर्विकल्प थिए भुटानीहरु । उनीहरु केवल दक्षिण एशियामात्रै नभएर संसारभरी नै खुशीको सूत्र सिकाउने मुलुक बनेका थिए । सन् २०११ मा उनीहरुले गर्ने गरेको सकल राष्टि्रय खुशीको मापनलाई संयुक्त राष्ट्र संघले मान्यता दिएपछि अरुदेशहरुले पनि खुशी गणनामा भुटानबाट धेरै कुरा सिके । हिमालको काखमा जीवन फुलिरहेको थियो । हिमाल सरी अटल त्यो खुशी, तर दुनियाँको लागि त्यो डाहाको विषय थियो ।
सन् १९७४ पछिको अवस्था
पर्यटकलाई भुटानमा प्रवेशको अनुमती दिएपछि भुटानीहरु क्षणिक र देखावटी खुशीको लागि आफ्नो वास्तविक खुशी बेच्न बाध्य भए । आफूलाई अरुसँग दाँज्न थाले । चाहानाहरुले आकाश छोयो । जीवनशैलीमा पुरै भिन्नता आयो । भुटानीहरु मौलिकताबाट आधुनिकतामा पूरै परिवर्तन भए ।
२०१८ मा भारतको नयाँ दिल्लीमा भेटिएका ताम्मु दोर्जे अहिले भुटान पहिले जस्तो खुशी नभएको बताउँछिन् । उनीहरुको खुशी अहिले बढीमा एक दिनभन्दा टिक्न छाडेको छ । ‘पर्यटक आए र व्यापार राम्रो भयो भने खुशी लाग्ने हो ।’ दोर्जेले भनिन् ‘हाम्रो खुशी क्षणिक भएको छ । पहिलेका मानिसको जस्तो अनगिन्ती खुशी कसरी पाउनु ?’  उनी मोङगरमा एउटा रेष्टुरेन्ट चलाउँछिन् । उनलाई पर्यटक आगमनबाट मात्रै क्षणिक खुशी मिल्ने गरेको उनको अनुभव छ ।
भुटानमा पर्यटक प्रवेशको सुरुवाती समयमा पैसाको लोभ देखाइयो । पर्यटन शुल्कबाट मनग्य आम्दानी गराउने लोभमा छिराइएका पर्यटकहरुकै कारण आज भुटानले न त मनग्ये आम्दानी गर्न सकेको छ न त खुशीको मापन गर्ने जीएनएचमा राम्रो अंक पाएको छ । सन् २०१९ मा विश्वभरी गरिएको खुशी मापनमा भुटान ९५ औं स्थानमा सीमित भयो । यही करको लोभले अहिले भुटानको मौलिक संस्कृति धरापमा परेको छ । आर्थिक रुपमा व्यापार घाटा बढेको छ र अर्थतन्त्र पनि बलियो हुन सकेको छैन ।
कर प्रणालीको कुरा गर्दा करको लोभमा १९७४ देखि नै पर्यटक भित्र्याए पनि भुटानले २००० साल पछि मात्रै कर ऐन लागू गराएको थियो । २००० मा आएको कम्पनी ऐन र बिक्री कर र भन्सार अन्त शुल्क करसँगै भुटानको औपचारिक कर कानूनको सुरुवात भएको हो । यसअघि अन्य शीर्षकका छिट्टपुट्ट कानूनहरु आएको भएपनि यही कानूनमार्फत् भुटानले करलाई व्यवस्थित गराउन थालेको हो । अहिले भुटानमा संस्थागत आयकर तर्फ ३० प्रतिशत कर लगाउने गरिएको छ । भुटानले आयकरमा त्यहाँको राष्ट्रिय मुऽा अनुसार एक लाखसम्म छुट दिने गरेको छ । त्यस्तै, व्यक्तिगत आयकर तर्फ भुटानले एक लाखदेखि २ लाख ५० हजारसम्म १० प्रतिशत, त्यसपछि ५ लाखसम्म १५ प्रतिशत, त्यसपछि १० लाखसम्म २० प्रतिशत र त्यो भन्दा माथि जतिसुकै भएपनि २५ प्रतिशत कर लगाउने गरेको छ ।
त्यस्तै, २०१८ कै अन्तिमतिर बनारसमा अध्ययनको सिलसिलामा आएका एक भुटानी दुलाल थरका विद्यार्थी थिए । उनी पनि आफूहरु बाबुबाजे जस्तो खुशी भएर बस्न नसकेको बताउँछन् । ‘विश्व चिनेपछि माग पनि बढ्न थाल्यो, साथमा चाहाना पनि । त्यसपछि खुशीको त के कुरा ?’ उनी सम्झन्छन् ।

यही कुरा भुटानका तत्कालीन प्रधानमन्त्रीले ५ वर्ष अघि रोयटर्ससँगको अन्तर्वार्तामा पनि स्वीकारेका थिए । भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मी थिनले अन्तर्वार्तामा भनेका छन् ‘राजश्वको लोभले पर्यटक भित्र्याउन थालेपछि मानिसहरु पैसाको लोभमा खुशी देखिन छाडेका छन् । उनी प्रजातन्त्र आएको २००८ सालदेखि २०१३ सालसम्म भुटानका प्रधानमन्त्री बनेका थिए । उनका अनुसार यस्ता परिवारहरु पनि देखिन थालेका छन् कि जसको घरमा ४ वटासम्म गाडीहरु छन् । तैपनि उनीहरु बिलासी गाडी आयात गर्न रुचाउँछन् । जबकी ती गाडीको लागि हाम्रा सडकहरु नै उपयुक्त छैनन् ।’
७ लाखको हाराहारीमा जनसंख्या रहेको भुटानले सन् २०११ मा मात्रै ६५ हजार गाडीहरु खरिद गरेको थियो । यो बढ्दो बिलासीताको उदाहरण हो । त्यो गाडी खरिद र त्यसको लागि तेलको लागि भुटान भारतसँग परनिर्भर बन्न मात्रै पुगेन त्यो सामान खरिद गर्नको लागि भुटानको कूल आय व्यर्थ बन्न पुग्यो ।
थिनका अनुसार भुटानको लागि सबैभन्दा दुःखको कुरा त यो हो कि पर्यटकहरुलाई प्रवेश दिएपछि बिस्तारै भुटानको सकल राष्ट्रिय सुख घट्दै गईरहेको छ । २०१० सम्म आईपुग्दा भुटानका जम्मा ४१ प्रतिशत मानिसले आफूलाई सुखी रहेको बताएका थिए । त्यो १९७४ अघिसम्म दोब्बर भन्दा बढी थियो । त्यस अघिसम्म सबै गाउँमा रमेर आˆनै पौरखमा बाँचिरहेकाहरु त्यसपछि बिस्तारै नोकरीको खोजीमा शहर पस्न थाले भने गाउँ बिस्तारै बिस्तारै रित्तिँदै गएको छ ।
थिन भन्छन् ‘हामी जीएनएचबाट बिस्तारै बिस्तारै दूर हुँदैछौं । यसको अर्थ हामीहरु पनि अरु जस्तै भौतिकवादी बन्दै गइरहेका छौं ।  यस्तो रुझानको कारण अर्थव्यवस्थामा पनि नकारात्मक असर परिरहेको छ । यसको नोक्सानी सरकारले नै बेहोर्नु परिरहेकोले सरकारले ठोस कदम चाल्नु पर्ने भएको छ ।
भुटानमा केही यस्ता नियमहरु पनि छन् जसले दुनियाँलाई नै चकित बनाउँछ । यहाँका केही यस्ता संवैधानिक दायित्वहरु छन् जस्तै यहाँका ६० प्रतिशत मानिस घना जंगलमा रहन अनिवार्य भनेको छ । त्यस्तै सबैको बातावरण जोगाउने मूल दायित्व भित्र पर्दछ । यहाँ एक पटक एकै दिन १० हजार रुख रोपेर भुटानले विश्व रेकर्ड कायम राखेको थियो । यो देशमा २००१ सालसम्म त यहाँ टिभी र इन्टरनेटमा पनि प्रतिवन्ध लगाईएको थियो । तर, २००१ पछि यी दुई उपकरणको खुल्ला भएसँगै भुटानले विस्तारै आˆनो अस्तित्व गुमाउन सुरु गर्यो ।