अर्घाखाँची बस दुर्घटनाको त्यो कहालीलाग्दो त्रासदी, जस्ले पाए नयाँ जीवन

News

शिव डुम्रे
रुपन्देही, मंसिर १२ । बुटवलस्थित चौराहा हस्पिटलको ओपिडी वाडको बेड नम्बर २ मा एक घाइते महिला अस्पतालको शैयामा लडिरहेकी छन् , छेउमा उनको घाइते नाबालक ।
घाइते महिला सपना कुँवर हुन् । र नाबालक उनको २ वर्षीय छोरा रिजन जसको टाउकोमा सेतो पट्टी, दाहिने खुट्टा भाँचिएको र हातमा चोट लागेको अवस्था छ । उनी एकोहोरो आमाको मुखमा हेर्दै रोइरहन्छन् । बसबाट ओर्लिन ३ मिनेट जतिको बाटो मात्रै बाँकी हुँदा उनीहरु रहेको बस दुर्घटनामा पर्यो ।

सपना आफ्नो बच्चालाई हातमा लिइ बसको सिटबाट उठेर अलि अगाडि जाने कोशिश गरिरहेकी थिइन् । छोराले हातमा बिस्कुट समातेका मात्रै थिए खान भ्याएका थिएनन्। त्यो समयमा बस एक्कासि बाटोबाट तल खस्न लाग्यो उनी थचक्क बसिन् । बस खस्न सेकेन्ड पनि लागेन संगै अगाडि पट्टीको सिटमा रहेका सपनाको आफन्तको ज्यान गयो ।सपना आफ्नो छोरालाई एक हातले र अर्को हातले बसको डन्डी समातेर बसेकी थिइन्। त्यो कहालीलाग्दो दुर्घटनाको पल सम्झन नचाहने उनले बताइन्। दुर्घटना स्थलमा उनी अर्धचेत अवस्थामा थिइन् । नाबालक राइरहेको थियो। उनीजस्तै धेरै अरू यात्रुहरुको निधन भयो । उनकै अगाडि रगतमा लत्पतिएका शवहरु एकैछिनमा असरल्ल भए ।सपना रगतै लागेको हात लिएर छोरालाई च्यापेर बस दुर्घटनाको झन्डै २ घन्टा पछिमात्रै बाहिर
निस्किन सफल भइन् । नाबालक रिजन र उनकी आमा सपनाले नयाँ जीवन पाए । सपना जस्तै सहयात्री गुमाएर रगतले लत्पतिएर जीवन गुम्नै लाग्दा बाँचेकाहरु पनि छन् । उनीहरु हिजो बुधबार अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनाका घाइतेहरु हुन् ।१९ जनाको ज्यान जानेगरी भएको अप्रत्याशित दुर्घटनाले अर्घाखाँची शोकमग्न छ । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार सन्धिखर्क नगरपालिकाको नरपानीमा बाटोभन्दा ९०० मिटर तल खसेको थियो ।तीव्र गतिमा दौडिरहेको बसले आफ्नो नियन्त्रण गुमाएर सडकबाट तल खसेको थियो । दुर्घटनामा घाइतेहरुको उपचार रुपन्देहीका अस्पतालहरुमा भैरहेको छ ।बुटवलस्थित चौराहा अस्पतालमा ९, क्रीमसन अस्पतालमा २, भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार चलिरहेको छ जसमा ३ जना विशेष उपचार कक्ष आइसीयुमा उपचाररत छन् ।